वीपी प्रतिष्ठानको बेतिथीबारे गठित छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदनः सिनेटको बैठक बोलाएर दोषीलाई कारवाही गरिने

दिव्य रोशनी (धरान)/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुलाई हटाउने उद्देश्यले गठित छानविन समितिले प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ।
शुक्रबार छानविन समितिको संयोजक सहकुलपति एवं स्वास्थ्य मन्त्री विरोध खतिवडा, स्वास्थ्य सचिव डा.रोशन पोख्रेल र धरानका मेयर तिलक राईले प्रधानमन्त्रीलाई भेटेर प्रतिवेदन बुझाएको हो । वीपी प्रतिष्ठानका सिनेट सदस्य समेत रहेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईले प्रधानमन्त्रीले दिएको निर्देशन अनुसार गठित छानविन समितिले प्रतिवेदन बुझाएको जानकारी दिए। प्रतिष्ठानका वहालवाला उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रेक्टर प्रा.डा.गुरु खनाल र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलाई कारबाही गर्न प्रतिवेदनमा सिफारिश गरिएको छ । मेयर राईले अब चाडै सिनेटको बैठक बोलाएर कारबाही प्रक्रिया अगाडी बढाईने बताए।
यसैगरी मेयर राईले प्रा.डा.मोहनचन्द्र रेग्मीले प्रष्ठिानको रजिष्ट्रारबाट राजिनामा दिइसके पनि उनको कार्यकालमा भएका खरिद लगायत कुराको थप आवश्यक छानबिन गरि कारबाही गर्न सिफारिश गरिएको जानकारी दिए। उनका अनुसार राजिनामा दिए पनि प्रा. डा. मोहनचन्द्र रेग्मीको कार्यकालमा भएको आवश्यक छानबिन गरेर कारबाही गर्ने प्रतिवेदनमा उल्लेख छ।