सुवास राई स्मृती सुपर–८ लिगः धरान १४ लाई पहिलो पटक ३ अंक

दिव्य रोशनी(धरान)/ सुवास राई स्मृति सुपर ८ लिगकम नकआउट अन्तर्गत पाँचौे दिनको खेलमा धरान १४ ले ५ नं वडालाई ३–१ गोल अन्तरले हराउदै ३ अंक बटुलेको छ।
हाम्रो धरान भेट्रान फुटवल क्लबको आयोजनामा आज मंगलवार धरान रंगशालामा भएको खेलमा धरान १४ का विनोद राईले व्यक्तिगत ३ गोल गरी ह्याट्रिक गर्दै टिमलाई जित दिलाएको थियो। खेलमा धरान ५ ले शुरुवाती अग्रता लिएको थियो। धरान ५ का मिजास लिम्बुले पहिलो हाफको ९ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर खेलको १८ औं मिनेटमा धरान १४ का विनोद राईले गोल गर्दै टिमलाई १–१ को बराबरीमा ल्याई पुर्याएका थिए। मध्यान्तर सम्म १/१ को बराबरी रहेकोमा मध्यान्तर पछि धरान १४ का विनोद राईले पुनः ५० र ८० औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए। खेलको म्यान अफ दि म्याच धरान १४ का विनोद राई घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे।
लिग तालिकामा दुई खेल खेलेको धरान १४ को ३ अंक छभने समान दुई खेलबाट धरान ५ नं वडाको पनि ३ अंक छ। यसैगरी १ खेल मात्र खेलेको धरान १३ संग पनि ३ अंक रहेको छ। यसैगरी १ खेल मात्र खेलेको धरान ११, १८, १७ र ६ नं वडाको पनि समान १/१ अंक रहेको छ। प्रतियोगिता अन्तर्गत भोली बुधवार धरान ११ का विरुद्ध धरान ६ नं वडाका बिच दिनको २ बजे खेल हुने म्याच कमिस्नर ईन्द्र थापा मगरले बताए।
सुवास राई स्मृती सुपर–८ लिग कम नकआउट प्रतियोगितामा गोधुली रनिङ कप प्रतियोगीताका उत्कृष्ट ८ टीमहरुको सहभागीता रहेको छ। लीगको ग्रुप “ए” मा धरानको वडा नं १४, ८, ५ र १३ रहेको छभने ग्रुप “बि” मा वडा नं ११, १७, ६ र १८ रहेको छ । प्रतियोगिताका बिजेताले ट्रफि सहित नगद २ लाख ५ सय ५५ रुपैया र उपबिजेताले १ लाख ५ सय ५५ रुपैया सहित ट्रफी प्राप्त गर्नेछ । यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याचले नगद २ हजार सहित मेडल प्राप्त गर्नेछन्भने फाईनल खेलको म्यान अफ द म्याचले नगद ३ हजारका साथमा मेडल प्राप्त गर्नेछन्। त्यस्तै ईण्डिभिजुअल पुरस्कार तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर , सर्वाधिक गोलकर्ता र उत्कृष्ट कोचले जनही नगद ५ हजार ५ सय सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् भने प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद ७ हजार ५ सय सहित मेडल र ट्रफी प्राप्त गर्ने क्लवका अध्यक्ष अशोक राईले बताए।