कतारी अमिर अल थानी काठमाण्डौमा

दिव्य रोशनी/ कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाण्डौ आईपुगेका छन्।
दिउँसो ३ः३५ का्ठमाण्डौ अवतरण गरेका उनी राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा विशेष विमान मार्फत काठमाडौं आइपुगेका हुन्। अमिर अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ लगायतले स्वागत गरेका थिए। सो अवसरमा कतारका अमिरको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी अर्पण गरेको थियो।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमण दलमा कतारको प्रशासनिक मामिला हेर्ने अमिरी दिवान प्रमुख शेख साउद बिन अब्दुल रहमान, यातायातमन्त्री जसिम विन सैफ अल सुलाती, वाणिज्य तथा उद्योगमन्त्री शेख मोहम्मद बिन हमाद बिन कासिम, परराष्ट्र राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखी रहेका छन्।
यसैगरी भ्रमण दलमा अमिरी दिवानको अध्ययन र अनुसन्धान विभागका निर्देशक साद बिन नासेर अल काबी, कतार लगानी प्राधिकरण (क्यूआईए)को एसिया र अफ्रिका लगानी प्रमुख शेख फैसल बिन थानी अल थानी, परराष्ट्र मन्त्रालयको एसिया मामिला विभाग प्रमुख युसुफ सुल्तान लाराम, अमिरको स्वकीय सचिवालयका प्रमुख बिन घनिम अल्होदैफी, राज दरबारको समारोह विभागका सहायक निर्देशक तलाल बिन अल्मास अल सुलती तथा अमिरका निजी सहायक मन्सुर फलेह अल–हजरी लगायत डेढ सयभन्दा बढीको सहभागिता छ ।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल र अल थानीबीच साढे ५ बजेदेखि शीतल निवासमा आधा घण्टाको द्विपक्षीय भेटवार्ता हुनेछ । त्यसपछि साँझ ७ बजे होटेल सोल्टीमा राष्ट्रपति पौडेलले कतारी अमिरको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन् ।
यसैगरी भोली बुधवार विहान साढे १० बजे प्रधानमन्त्री प्रचण्ड र अल थानीबीच होटेल सोल्टीमा औपचारिक वार्ता हुने कार्यक्रम रहेको छ । उक्त औपचारिक वार्तापछि विभिन्न समझदारी र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । उक्त कार्यक्रम सम्पन्न भएपछि मध्याह्न १२ बजे प्रधानमन्त्री प्रचण्डले उनको सम्मानमा होटेल द्धारिकामा दिवा भोज आयोजना गर्ने भएका छन्। दिवा भोजमा सहभागी भएपछि अमिर अल थानी सहितको भ्रमण दल दिउँसो २ बजे कतारको दोहाका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
कतारी अमिर अल थानीको सम्मानमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ।