सुवास राई स्मृती सुपर–८ लिगः धरान १७ र ६ नं वडाले १/१ अंक बाँडे

दिव्य रोशनी(धरान)/ सुवास राई स्मृति सुपर ८ लिगकम नकआउट अन्तर्गत चौथो दिनको खेलमा धरान १७ र ६ नं वडाले बराबरी खेल्दै १/१ अंक बाँडेको छ।
हाम्रो धरान भेट्रान फुटवल क्लबको आयोजनामा आज सोमवार धरान रंगशालामा भएको खेलमा धरान १७ ले शुरुवाती अग्रता लिएको थियो। खेलमा धरान १७ का सुजन तामाङले पहिलो हाफको २२ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो। तर खेलको ७४ औं मिनेटमा धरान ६ का विवेक पौडेलले गोल गर्दै टिमलाई १–१ को बराबरीमा ल्याईपुर्याएका थिए। निर्धारित समयसम्म दुबै टिमबाट थप गोल नभएपछि धरान १७ र ६ नं वडाले १/१ अंक बाँडेको छ। खेलमा धरान १७ का मिलन राईले ८० औं मिनेटमा दोहोरो पहेले कार्ड खादै मैदान बाहिरिएका थिए। खेलको म्यान अफ दि म्याच धरान १७ का कृष्ण राई घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे।
सुवास राई स्मृती सुपर–८ लिग कम नकआउट प्रतियोगितामा गोधुली रनिङ कप प्रतियोगीताका उत्कृष्ट ८ टीमहरुको सहभागीता रहेको छ। लीगको गु्रप “ए” मा धरानको वडा नं १४, ८, ५ र १३ रहेको छभने गु्रप “बि” मा वडा नं ११, १७, ६ र १८ रहेको छ । प्रतियोगिताका बिजेताले ट्रफि सहित नगद २ लाख ५ सय ५५ रुपैया र उपबिजेताले १ लाख ५ सय ५५ रुपैया सहित ट्रफी प्राप्त गर्नेछ । यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याचले नगद २ हजार सहित मेडल प्राप्त गर्नेछन्भने फाईनल खेलको म्यान अफ द म्याचले नगद ३ हजारका साथमा मेडल प्राप्त गर्नेछन्। त्यस्तै ईण्डिभिजुअल पुरस्कार तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर , सर्वाधिक गोलकर्ता र उत्कृष्ट कोचले जनही नगद ५ हजार ५ सय सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् भने प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद ७ हजार ५ सय सहित मेडल र ट्रफी प्राप्त गर्ने क्लवका अध्यक्ष अशोक राईले बताए।
प्रतियोगिता अन्तर्गत भोली मंगलवार धरान १४ का विरुद्ध धरान ५ नं वडाका बिच दिनको २ बजे खेल हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले बताए।