अराजक गतिविधी गरेर पहिचान स्थापित हुँदैन, –एमाले उपाध्यक्ष नेम्वाङ

दिव्य रोशनी(धरान)/ नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले अराजक गतिविधी गरेर पहिचान स्थापित नहुने बताएका छन्।
सो कुरा उनले शनिवार धरानमा राष्ट्रिय युवा संघ नेपालको प्रथम कोशी प्रदेश अधिवेशनमा प्रमुख अतिथीको मन्तव्यका क्रममा बताएका हुन्। एमाले उपाध्यक्ष नेम्वाङले कोशी प्रदेश बनाउन मुख्य दलहरूको नै मुख्य भूमिका रहेको उल्लेख गर्दै पहिचानवादीहरुलाई लोकतान्त्रिक पद्धती अपनाउन आग्रह गरे। उनले भने “ढुङ्गा मुढा गरेर, अराजक गतिविधी गरेर पहिचान प्राप्त हुँदैन, पहिचान प्राप्तीका लागी लोकतान्त्रिक पद्धती अपनाउनै पर्छ।”
सोहीक्रममा उपाध्यक्ष नेम्वाङले पहिचानवादीले ताप्लेजुङमा लिम्बु थरका डिएसपीको टाउकोमा प्रहार गर्दा १७ टाँका लगाउनु परेको र झापामा राजवंशी थरका प्रहरीको च्यापु खुस्काएको घटना उल्लेख गर्दै ‘कस्तो खालको पहिचान खोजेको हो? भनेर प्रश्न गरे। उनले यस्ता गतिविधी कसैको लागि पनि हितकर नभएको बताउँदै एमाले पहिचानवादी पाटी भएको जिकिर समेत गरे। आफु सभामुख भएका बेला एमालेकै पहलमा किरात धर्मका महान गुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको उनको भनाई थियो।
पहिचानवादीहरुले सामाजिक सञ्जालमा युवा संघको कार्यक्रममा सशक्त अवरोध गर्नेे प्रचार गरेपछि अधिवेशनको सुरक्षाका लागि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो। प्रदर्शनकारीहरूले तीनकुने सिरिजंगा चौकमा भेला भई पहिचान मेट्न पाइँदैन, कोशी नाम खारेज गर, पहिचान विरोधी मुर्दावाद लगायतका नाराबाजी गरेका थिए।
संघको अधिवेशनको प्रचार सामग्रीमा “कोशी” प्रदेश उल्लेख भएकोले अधिवेशनमा “कोशी” उल्लेख गर्न नहुने सहित ४ सूत्रीय सर्त राख्दै अवरोध गर्ने बताएको थियो।
उद्घाटन सत्रमा संघका पूर्व अध्यक्ष, इन्चार्ज महेश बस्नेत, एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, केन्द्रीय सदस्य यज्ञराज सुनुवार, पूर्व मुख्यमन्त्री, पोलिटब्युरो सदस्य शेरधन राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

One thought on “अराजक गतिविधी गरेर पहिचान स्थापित हुँदैन, –एमाले उपाध्यक्ष नेम्वाङ

टिप्पणीहरू are closed.