साँगुरीगढीको इनामे समाजद्वारा कविता महोत्सव २०८१ आयोजना गरिने

दिव्य रोशनी(साँगुरीगढी)÷धनकुटाको साँगुरीगढी गाउँपालिका ३ स्थित इनामे समाजद्वारा कविता महोत्सव २०८१ कार्यक्रमसँगै कविता लेखन, वाचन प्रतियोगिता कार्यक्रम आयोजना हुने भएको छ।
जेठ २० गते आयोजित पत्रकार सम्मेलनमा कविता महोत्सव कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यता रहनुका साथै कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी लगायतको विशेष आतिथ्यता रहने भएको छ।
आयोजक समाजका अध्यक्ष अरुण देवानले कविता महोत्सव कार्यक्रममा देशभरका २५ जना ख्यातीप्राप्त नेपाली कविहरूको सहभागिता रहनुका साथै कविता समेत वाचन गरिने बताए। साथै उनले इनामे, डाँडाबजार स्कुलबाट उत्तर गाउँपालिकाको वडा ३ स्थित लिम्बु समुदायको ऐतिहासिक बसोबास रहेको गाउँ भएको बताए। गाउँका लिम्बुहरूलाई ‘यी नामी’ मानिसहरू भन्ने कुरा अपभ्रंश भई गाउँको नाम नै “इनामे” भएको समेत अध्यक्ष देवानले जानकारी दिए।
यही असार १ गते शनिार धनकुटाको नाम्जेस्थित भिलेज रिसोर्टमा आयोजना हुने उक्त महोत्सवमा साँगुरीगढीका कविहरूको प्रतियोगितात्मक कविता प्रतियोगिता हुने प्रवक्ता अमित सुब्बाले बताए । कविता प्रतियोगितामा प्रथम पुरस्कार नगद १५ हजार राखिएको छ । दोस्रो पुरस्कार नगद १० हजार, तेस्रो पुरस्कार नगद ५ हजार साथै ७ जनालाई १÷१ हजार सान्त्वना पुरस्कार प्रदान गरिने प्रवक्ता सुब्बाले बताए।