चाँडपर्व लक्षित गरी सस्तो बजार लगाउन व्यवसायीहरुको माग

दिव्य रोशनी(धरान)/ नजिकिदो चाँडपर्व(दशैं÷तिहार) लाई लक्षितगरी सस्तो बजार लगाउन धरानका व्यवसायीहरुले उपमहानगरपालिकासँंग आग्रह गरेका छन्।
शुक्रवार उप–महानगरपालिकामा आयोजित “चाँडपर्व नजिकिदै गर्दा व्यवसायीले पालना गर्नुपर्ने मर्यादा र नगरपालिकाले खेल्नुपर्ने भूमिका” बारे अन्र्तक्रिया कार्यक्रममा व्यवसायीहरुले दशैंमा सस्तो बजारको माग गरेका हुन्। कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका सदस्य रामस्वरुप शर्माले धरान महंगो बजार भएको म्यासेज बाहिर गईसकेको अवस्थामा त्यसलाई चिर्न नजिकिदो चाँडपर्व दशैं/तिहारलाई लक्षितगरी उपहानगरले सस्तो बजार लगाउन माग गरे।
उनले पहाडबाट आउने तरकारी फलफूल धरानमा भन्दा ईटहरीमा सस्तो हुने तर धरानमा महंगो हुनुको कारण खोजीगरिनुपर्ने बताए। उनले भने “धरान बजार महंगो भएको बाहिर म्यासेज गएको छ, अब त्यसलाई चिर्नपनि नजिकिदै गरेको चाँडपर्व दशै/तिहारलाई लक्षित गरी धरानमा सस्तो बजार लाग्नुपर्छ। जसका लागी सुनसरीमा नै खाद्यान्न, तेल र चिनीका फ्याक्ट्रीहरु पनि छन्।” उनले सस्तो बजार लगाउन सुनसरी उवासंघ पनि उपमहानगरसँंग सहकार्य गर्न तयार रहेको बताए।
सोहीक्रममा शर्माले धरानको बजारअनुगमनलाई व्यवस्थित गरिनुपर्ने समेत बताए। उनले बजारको अनुगमन भनेको उपभोक्ता संगै व्यवसायीको हितमलाई पनि ध्यान दिनुपर्ने बताए। उनले धरानलाई व्यापारिक हब बनाउन स्थानिय सरकारले चासो र स्वामित्व लिनुपर्ने बताए।
यसैगरी धरान वितरक संघका अध्यक्ष नविन तामाङले पनि आर्थिक मन्दि रहेको धरानलाई चलायमान बनाउन चाँडपर्व लक्षितगरी उपमहानगरले सस्तो बजार लगाउनुपर्ने धारणा राखे। उनले काठमाण्डौबाट सामान लिएर आएका कन्टेनरहरु पार्किङ अभावमा ईटहरी सरेर जाँदा धरानका धेरै वितरकहरु ईटहरी सरुवा दुःखेसो पोखे । उनले भने “धरानमा पार्किङ अभावले सामान बोकेका कन्टेनरहरु ईटहरीमा नै बस्न थालेपछि धेरै वितरकहरु पनि ईटहरी सरे। जसले गर्दा धरानको बजार झनै महंगो हुँदै गएको छ।”
यसैगरी अन्र्तक्रिया कार्यक्रममा पर्यटनकर्मी बासुदेव बरालले व्यवसायीहरुको सुरक्षा र मैत्रीपूर्ण लगानीको वातावरण बनाउनुको सट्टा उपमहानगरले नगरको आम्दामी कसरी बढाउने भन्नेमा मात्रै ध्यान दिंदा धरान महंगो हुँदै गएको तर्क राखे। उनले धरान भन्दा पछि परेको ईटहरीले अहिले धरानलाई आर्थिक विकासमा उछिन्दै गरेको बताए। सोहीक्रममा पर्यटनकर्मी बरालले धरान बाहिरका शहरहरुमा पनि डेंगु फैलिरहेपनि मिडियाले धरानलाई आतंकित बनाएको बताए। उनले भने “धरानलाई मिडियाले यती आतंकित बनाएको छ कि डेंगु छ भन्दै पर्यटक धरान आउनै चाहदैन।” व्यवसायीहरुको आम्दामी बढ्योभने राज्यको दायित्व पनि घट्ने भएकाले स्थानिय सरकारले त्यसतर्फपनि चासो दिनुपर्ने उनको भनाई छ।
त्यस्तै होटल एशोसिएसन अफ धरानका अध्यक्ष सरोज भट्टराईले अब स्थानिय सरकारले होटलहरुको गे्रडिङ गरेर अनुगमन गरिनुपर्ने बताए। उनले विगतका वर्षहरुमा खाद्य तथा गुण नियन्त्रण कार्यालयले होटलका कर्मचारीहरुलाई फुड सेफ्टी सम्बन्धि तालिम पश्चात् मात्र होटलहरुको अनुगमन गरेर स्टिकर प्रदान गर्ने गरेकोपनि बताए।
यस्तै साना उद्योग व्यवसायी संघका केन्द्रिय अध्यक्ष उद्धव प्रसाद अधिकारीले कोरोनाको महामारीमा उपमहानगरले राजस्वमा छुट गरेको बताउँदै अहिलेको आर्थिक मन्दिले घरभाडा, कर्मचारी तलब तिर्न समस्या रहेकोले करमा छुटको व्यवस्था ल्याउन आग्रह गरे। त्यस्तै साना उद्योग व्यवसायी संघका जिल्ला अध्यक्ष शान्ता अधिकारीले धरानको आर्थिक मन्दिले गर्दा आफ्नै घरको सटर पनि भाडामा लाग्न नसकेको अवस्थामा घर बहाल कर भने तिर्नुपर्ने बाध्यता रहेको सुनाए। उनीले धरानको व्यापार÷व्यवसाय खस्कनुको कारण खोजिनुपर्ने बताए।
कार्यक्रममा नेपाल सुनचाँदी कला व्यवसायी संघ सुनसरीका अध्यक्ष प्रदिप गहतराजले धरानमा राम्रो सुन पाईन्छ भनेर पहाडी ईलाकादेखी पूर्वी नेपालका विभिन्न भागहरुबाट ग्राहकहरु आएपनि पछिल्लो समयमा धरानमा भएका विभिन्न घटनाहरुले ग्राहकहरु आउन छाडेको बताए। यसैगरी कपडा व्यवसायी संघ, रेडिमेड कपडा व्यवसायी संघका प्रतिनिधीहरुले पनि सटरमा बस्ने व्यवसायीहरुको मात्र अनुगमन नभई फुटपाथमा बस्नेहरुको पनि अनुगमन गरिनुपर्ने बताए।उनीहरुले कर बढाउनुको सट्टा करको दायरा बढाउन उपमहानगरसँंग आग्रह गरेका थिए।


त्यस्तै उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष विजय अछामीले अब धरानलाई स्मार्ट सिटीको रुपमा अगाडी बढाउन बहस गरिनुपर्ने बताए। उनले धरानको खस्कँदो व्यापारका समयमा साम्प्रदायिक खलल पुग्नु दुःखद भएको बताउँदै सन्तुलित वातावरणका लागी सबैजनाले एउटा बहस बनाउनुपर्ने बताए।
कार्यक्रममा सहभागीहरुको जिज्ञासालाई शान्त पार्दै मेयर हर्क साम्पाङले धरानको सुरक्षा केही हदसम्म फितलो भएको महशुस भएकाले सिडिओ, एसपी, डिएसपीलाई जानकारी गराएको बताए। उनले धरानको बाटो साँगुरो भएकै कारण बजार चलायमान हुन नसकेको बताउँदै ठुलो मन बनाएर सडकका लागी ठाउँ छाडिदिन घरधनीहरु समक्ष आग्रह गरे। बाटो ठुलो भएसंँगै बजारपनि ठुलो हुने मेयर साम्पाङको भनाई थियो।

मेयर साम्पाङले धरानमा पर्यटक घटे भनेर पर्यटन व्यवसायीहरुले चिन्ता लिएपनि वास्तवमा त्यस्तो नभएको बताए। उनले कुनै न कुनै बहानामा मानिसहरु धरान घुम्न आउने गरेको बताए। “धरानलाई राम्रो बनाउने भनेको पर्यटन नै हो। जसमा धार्मीक पर्यटन हो।” उनले भने– “तर पर्यटनलाई नै असर पर्नेगरी हर्क साम्पाङ पाष्टर हो” भनेर हिड्ने मान्छे धरानमा नै भएकाले त्यसको उनले विरोध गरे। श्रोत साधन र समयले भ्याएसम्म धरानको आर्थिक उन्नतीमा सदैव लागीपर्ने मेयर साम्पाङले प्रण गरे।
धरान उपमहानगरपालिकाका उममेयर अईन्द्र विक्रम बेघाको अध्यक्षतामा भएको सो अन्र्तक्रिया कार्यक्रममा नजिकिदै गरेको चाँडपर्वलाई मध्य नजर गर्दै सबै मिलेर उपभोक्ता, व्यवसायी स्वच्छता कायम गरी थप व्यवस्थित गर्ने निर्णय समेत गरिएको थियो। (दिव्य रोशनी साप्ताहिकबाट)

2 thoughts on “चाँडपर्व लक्षित गरी सस्तो बजार लगाउन व्यवसायीहरुको माग

टिप्पणीहरू are closed.