संकटग्रस्त बराहलाई पुनः चलायमान बनाईनुपर्ने(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ बराहको चलअचल सम्पत्ति फुकुवा गरी चलायमान बनाएमात्र पिडितहरुले आफ्नो लगानी पाउने बरह समन्वय अनुगमन समितीले ठहर गरेको छ।
आज सोमवार बराह कम्प्लेक्स (श्रीपा भवन)मा पत्रकार सम्मेलनको आयोजना गर्दै बराह समन्वय÷अनुगमन समितीका अध्यक्ष श्याम प्रसाद ढकालले रोक्का गरिएको बराहको चल अचल सम्पत्ति फुकुवागरी बराहलाई चलायमान बनाए मात्र पिडितिहरुले आफ्नो लगानी फिर्ता पाउने बताए। उनले बराह संचालकहरुलाई दबाब राखी कारोबार गर्न नदिए लगानीकर्ता र बचतकर्ताले आफ्नो रकम पाउन नसक्ने ठोकुवा समेत गरे।
सोहीक्रममा अध्यक्ष ढकालले बराहलाई संकटग्रस्त घोषणा गर्न धरानको कार्यपालिका बैठकमा राखेको प्रस्तावलाई कार्यपालिका सदस्यहरुले अस्विकृत घोषणा गरेकोमा सम्पूर्ण कार्यपालिका सदस्य प्रति आभार समेत व्यक्त गरे। उनले भने “बराहलाई संकटग्रस्त घोषणा गरेर बचतकर्ताको लागनी फिर्ता हुन सक्दैन, यदि बचतकर्ताको लगानीलाई फर्काउने हो भने बराहलाई पुनः चलायमान बनाउनुको विकल्प छैन।”


यसैगरी समितीका सचिव नरेन्द्र कुमार लिम्बुले बराहलाई चलायमान बनाई पिडितहरुको रकम फिर्ता गराउने आफुहरुको उदेश्य रहेकाले बराह संचालक समिती र संघर्ष समिती बिच एकले अर्कालाई होच्याउने काम गर्न नहुने बताए। त्यस्तै समितीका सदस्य सुकदेव राईले संघर्ष समिती र संचालक समितीको दोहोरीका कारण अझसम्म पिडितहरुले आफ्नो पैसा नपाएको बताए।
यसैगरी पत्रकार सम्मेलन बराह पिडित एवं राजनीतिज्ञ अमर ईजमले यदि बराहलाई संकटग्रस्त घोषणा गर्ने हो भने आफुहरुको लगानी फिर्ताको जिम्मा उनिहरुले नै लिनुपर्ने बताए। उनले आफ्नो बराहमा ४१ लाख रकम डुबेको बताउदै सबैले चलखेल नगरी सिस्टम अनुरुप सबैले काम गर्नुपर्ने समेत बताए।
यसैगरी समितीले सबै पिडित बचतकर्ताहरु होशियार र सचेत भई स्वार्थ पूर्ति गर्ने तत्वहरुको भण्डाफोर गर्न आग्रह गर्दै धरान उप महानगरपालिकालाई पनि जनताको रकम डुबाउन नदिन सहयोगको लागि अन्तिमसम्म खबरदारी गर्न समेत अनुरोध गरेको छ। साथै यही मंसिर १४ गते विहिबारका दिन ११ बजे श्रीपा भवन भोटेपुलमा लगानी बचतकर्ताहरुको बृहत भेला हुने भएकाले उपस्थितिको लागि समितीले आग्रह समेत गरेको छ।