भरौल अन्तर्राष्ट्रिय गोल्डकपको उपाधी क्षमादेवी प्लानिङ युनाईटेडलाई (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ बराहक्षेत्रमा जारी अन्तर्राष्ट्रिय भरौल गोल्डकप प्रतियोगिताको उपाधी डिफेन्डिङ च्याम्यिन क्षमादेवी प्लानिङ युनाईटेड क्लब काठमाण्डौले जितेको छ।
बुधवार बराहक्षेत्र ५ कालाबन्जर स्थित श्री जगन्नथ डेढराज माविको खेल मैदानमा भएको फाईनल खेलमा ब्वाइज युनियन काठमाडौलाई ट्राईब्रेकरमा हराउदै डिफेन्डिङ च्याम्यिन क्षमादेवी प्लानिङ युनाईटेड काठमाण्डौले उपाधी जितेको हो। अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा पहिलो हाफको ३३ मिनेटमा क्षमादेवी प्लानिङका लागी फागुराम थारुले पेनाल्टी मार्फत गोल गरेका थिए।


पहिलो हाफसम्म १–० ले अग्रता लिएको क्षमादेवीले दोस्रो हाफको तेस्रो मिनेटमा नै गोल खाएको थियो। जसमा ब्वाइज युनियनका शुसन लामाले फ्रि किक मार्फत गोलगरी खेललाई १–१ को बराबरीमा पुर्याएका थिए। निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेलको निर्णय ट्राईब्रेकरबाट लिईएको थियो। जसमा क्षमादेवी प्लानिङका लागी फागुराम थारु, विवश मगर, विशाल राई, राजेश साह र रोशन भुजेलले गोल गरेका थिए। यसैगरी व्वाईज युनियनका लागी सुजित बुढाथोकी, साहिल राणा, विवेक राई र मनोज श्रेष्ठले गोल गरेका थिएभने मान कुमार तामाङको प्रहार क्षमादेवी प्लानिङका गोल किपरले उत्कृष्ट ढंगले बचाउ गरेका थिए।
विजेता क्षमादेवी प्लानिङ युनाईटेडले ४ लाख नगद सहित ट्रफि पाएको छभने उपविजेतामा सिमित बनेको व्वाईज युयिनले नगद २ लाखमा चित्त बुझाएको छ।


यसैगरी प्रतियोगिताको म्यान अफ दि म्याच क्षमादेवी प्लानिङका फागुराम थारु घोषित भए। उनले नगद ५ हजार प्राप्त गरेभने बेष्ट गोल किपर लोकेश चौधरी, बेष्ट स्ट्राईकर प्रताप राई, वेष्ट डिफेन्स रिसभ अधिकारी, बेष्ट कोच सचिन्द्र धिमाल घोषित भए। उनिहरुले जनही नगद १० हजार प्राप्त गरे। उनीहरु सबै क्षमादेवी प्लानिङका हुन्। त्यस्तै व्वाईज युनियनका तर्फबाट रुपेश क्षेत्री बेष्ट मिड फिल्डर घोषित हुँदै नगद १० हजार प्राप्तगरेभने युनियन कै शुसान्त लामाले वेष्ट अफ दि टुर्नामेन्ट हुँदै नगद २५ हजार प्राप्त गरे। विजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका सुनसरी क्षेत्र नं १ (ख)का प्रदेस सांसद विजय राई, बराहक्षेत्र नगरपालिकाका उपमेयर नन्द कुमारी राई, एन्फाका केन्द्रिय उपाध्यक्ष दावा शेर्पा लगायतले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता रहेको थियो।

One thought on “भरौल अन्तर्राष्ट्रिय गोल्डकपको उपाधी क्षमादेवी प्लानिङ युनाईटेडलाई (भिडियो सहित)

टिप्पणीहरू are closed.