विपन्न परिवारको सहयोगी बन्दै होप धरान
(दिव्य रोशनी)\ज्याला मजदुरी काम गरि जीविकोपार्जन गर्दै आएका अति विपन्न ६ घरपरिवारलाई होप धरानले आज राहत स्वरुप खाद्यान्न वितरण गरेको छ।
दुःख र पीडामा परेका अति विपन्न परिवारहरुका निम्ति अहोरात्र खट्दै आएको होप धरानले कोरोना कहरको दोस्रो लहर शुरु भए लगत्तै अति विपन्न परिवारहरुको जीवन सहजताका निम्ति राहत स्वरुप खाद्यान्न वितरण गर्दै आएको होप धरानका अध्यक्ष निश्चलमोहन पलिखेले बताए।
धरान १५ साम्पाङ मार्गमा ज्याला मजदुरीमा निर्भर रहेका अति विपन्न ५ घरपरिवारलाई सामुदायिक प्रहरी सेवा केन्द्रका कोषाध्यक्ष तथा समाजसेवी तारा शाक्यको पहलमा होप धरानले उक्त राहत वितरण गरेको हो । उनीहरुलाई एक परिवार बराबर १५ केजी चामल, आधा केजी दाल, १ प्याकेट नुन, आधा केजी न्युटेला न्युटेला, तरकारी समेत प्रदान गरिएको थियो।
यस्तै आज नै होप धरानले धरान १४ मा बसोबास गर्ने अति विपन्न एक घर परिवारलाई समेत सोही अनुरुपको खाद्यान्न राहत प्रदान गरिएको अध्यक्ष पलिखेले बताए। अध्यक्ष पलिखेका अनुसार धरान निवासी हाल हङकङमा कार्यरत पलिखेका बहिनी सञ्जुला श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा प्रदान गरिएको आर्थिक सहयोगद्वारा सो राहत प्रदान गरिएको हो।
होप धरानले खाद्यान्न मात्र नभएर कोरोना संक्रमित परिवारका लागि निःशुल्क स्वास्थ्य सामाग्रीका साथै निःशुल्क अक्सिजन समेत घरघरमा पुर्याउँदै आएको छ।
महामारीको बेला होप धरानले अति विपन्न र समस्यामा पर्दै आएका परिवारहरुलाई पुर्याउँदै आएको सेवा अत्यन्तै प्रशंसनीय रहेको समाजसेवी तारा शाक्यले बताईन्। उनी भन्छिन–“विपन्न परिवारको समस्यामा साथ दिन अन्य संस्थाहरुले समेत होप धरानबाट सिको गर्नुपर्छ।”