धरान १३ गोधुली फुटबल रनिङ कपको फाईनलमा (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ धरान १३ गोंधुली फुटबल रनिङ कपको फाईनलमा पुगेको छ।
बुधवार धरान रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा धरान १८ लाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै धरान १३ फाईनलमा पुगेको हो। खेलमा धरान १३ का मिलन लिम्बुले ह्याट्रि गरेका थिए। उनले पहिलो हाफको २४ र दोस्रो हाफको २ र २७ औं मिनेटमा गोल गरेका थिए।यसैगरी बिवेक राईले पहिलो हाफको २४ र २६ औं मिनेटमा व्यक्तिगत दुई गोल गरेका थिएभने शाहिल श्रेष्ठले दोस्रो हाफको ४५ औं मिनेटमा १ गोल गरेका थिए।
यता धरान १८ का तर्फबाट विनोद चौधरीले दोस्रो हाफको १५ औं मिनेटमा एकमात्र गोल गरी टिमलाई शुन्य हुनबाट बचाएका थिए। प्रतियोगिताको म्यान अफ दि म्याच धरान १३ का मिलन लिम्बु घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे। प्रतियोगिता अन्तर्गत भोली विहिवारको दोस्रो सेमिफाईनल खेल धरान १४ र १७ नं वडाका बिच हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले जानकारी दिए।


माघ २७ गतेसम्म संचालन हुने २४ औं गोंधुली फुटबल रनिङ कप प्रतियोगितामा धरानका १८ वटा वडाको मात्र सहभागिता रहेको छ। प्रतियोगिताका बिजेताले नगद १ लाख ५० हजार रुपैया सहित रनिङ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन्भने उपबिजेताले नगद ७५ हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन। पुरस्कार राशिमा धरान १८ का वडाध्यक्ष प्रबिण राईका पिता ध्यान बहादुर राईले बिजेता र उपबिजेतालाई थप २५÷२५ हजार प्रदान गर्ने क्लबले जनाएको छ।
यस्तै बिधागत पुरस्कार तर्फ बेस्ट प्लेयरले नगद १५ हजार, हाइस्कोरले ७ हजार ५ सय प्राप्त गर्नेछन्भने बेस्ट डिफेन्डर, बेस्ट गोलकिपर, बेस्ट कोच, बेस्ट स्टाइकर, राइजिङ प्लेयर, बेस्ट मिड फिल्डर र म्यान अफ दि म्याचले जनही ५ हजार ५ सय प्राप्त गर्ने आयोजक गोधुली क्लवका उपाध्यक्ष सतिस केसीले बताए।