चैत्र २९ देखी धरानमा भेट्रान फुटबल प्रतियोगिता हुँदै (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ यही चैत्र २९ गतेदेखी तेस्रो धरान भेट्रान विक्रम राई स्मृति फुटबल प्रतियोगिता हुने भएको छ।
धरान १६ स्थित रंगशालामा हुने प्रतियोगितामा १ नं. प्रदेश (कोशी प्रदेश) का भेट्रान खेलाडीहरुको सहभागिता रहने धरान भेट्रान फुटबल क्लबका अध्यक्ष रोमी मोक्तानले बताए। उनले खेलकुदको शहरको रुपमा ख्याती कमाएको धरानमा स्व. विक्रम राई स्मृति भेट्रान फुटबल प्रतियोगिताको आयोजनाले सम्पूर्ण धरानवासीहरुलाई मनोरञ्जन साथै उत्साह प्रदान गर्ने बताए।


२०७२ सालमा स्थापित यस धरान भेट्रान फुटबल क्लबले पहिलो र दोस्रो संस्करण स्व. गोट बहादुरको स्मृतिमा आयोजना गर्दै आएतापनि तेस्रो संस्करणदेखी कोरोना संक्रमणका कारण मृत्यु भएका क्लबका पूर्व सचिव विक्रम राईको स्मृतिमा प्रतियोगिता संचालन गर्न लागेको जनाएको छ। प्रतियोगितामा प्रदेश १ का १२ टिमको सहभागिता रहने छ। आयोजक धरान भेट्रानका दुई टिम धरान भेट्रान फुटबल क्लब र हाम्रो धरान भेट्रान फुटबल क्लबसँंगै हाम्रो ईटहरी भेट्रान फुटबल क्लब ईटहरी, युनाईटेड भेट्रान फुटबल क्लब विराटनगर, काकँडभिट्टा भेट्रान फुटबल क्लब झापा, भरौल भेट्रान भरौल, विर्तामोड भेट्रान फुटबल क्लब विर्तामोड, दमक लखनपुर भेट्रान फुटबल क्लब दमक, एभरेष्ट भेट्रान मोरङ, उर्लावारी भेट्रान फुटबल क्लब मोरङ, कन्काई भेट्रान फुटबल क्लब सुरुङ्गा र धुलाबारी भेट्रान फुटबल क्लब रहेका छन्।


प्रतियोगिताका बिजेताले नगद १ लाख १ हजार सहित रनिङ ट्रफि प्राप्त गर्नेछन् भने उपबिजेताले ५१ हजार सहित ट्रफि प्राप्त गर्नेछ। त्यस्तै प्रतियोगितामा ईन्डिभिजुअल पुरस्कारहरु पनि राखिएको क्लबका सचिव सतिस केसीले बताए। प्रतियोगिता संचालनको लागि अनुमानित ८ लाख ५७ हजार लाग्ने सचिव केसीले बताए। प्रतियोगिताको पहिलो खेल बुधवार आयोजक हाम्रो धरान भेट्रानका विरुद्ध युनाईटेड भेट्रान फुटबल क्लब विराटनगरका बिच हुने आयोजकले जनाएको छ।