ब्याजदर वृद्धिले उद्योगी/व्यवसायी विस्थापित हुने खतरा

दिव्य रोशनी (धरान)/ सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले वर्तमान आर्थिक मन्दिको अवस्थामा बैंक तथा वित्तिय संस्थाहरुले मनोमानी रुपमा गरेको व्याजदर वृद्धीले उद्योग व्यवसाय विस्थापित हुन लागेको बताएका छन्।
शनिवार सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित छलफल तथा शुभकामना कार्यक्रममा अध्यक्ष श्रेष्ठले कोभिड महामारीका कारण मुलुकको अर्थतन्त्र अत्यन्तै प्रभावित भएको र रसिया युक्रेन युद्धका कारण निजी क्षेत्र लगायत अर्थतन्त्र नै धरापमा परेको अवस्थामा पछिल्लो समय भएको व्याजदर वृद्धिले व्यवसायीलाई निकै आघात पुगेको बताए। उनले दैनिक रुपमा बैंक तथा वित्तिय संस्थाबाट किस्ताको लागि दिइने मानसिक तनावका कारण व्यवसायिक क्षेत्र विक्षिप्त बनेको र यसले उद्यमी व्यवसायी मर्कामा परेको बताए।
सोहीक्रममा अध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँदै आयात प्रतिस्थापनका लागि संघर्षरत निजी क्षेत्रलाई अवैज्ञानिक रुपमा वृद्धि गरिएको व्याजदरले एक अंकमा ल्याउन वर्तमान चालुपूँंजी मार्ग निर्देशनलाई यथावत राखी कम्तिमा आर्थिक अवस्था सहज भएपछि लागु गर्न समेत माग गरे। उनले उद्योगी व्यवसायीहरुले थेग्नै नसक्ने गरी भएको व्याजदरको वृद्धिलाई नियन्त्रण गर्न अनुरोध गर्दा पनि सुनुवाई नभएमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले थालेको आन्दोलनमा संघको पनि ऐक्यबद्धता रहेको समेत बताए।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष गिरीधारी सापकोटाले पहिलो बैंकको आतंक, दोस्रो आन्तरिक राजस्व कार्यालयको आतंक र तेस्रो अनुगमनको नाममा स्थानिय निकायले गर्ने आतंक गरी तिनवटा आतंकको चपेटामा व्यवसायीहरु परेको बताए। उनले आजसम्म राजनीतिक दलहरुले व्यवसायीहरुबाट उठाएको चन्दाको हिसाब नदेखाएको बताउँदै तर सत्तामा पुगेपछि अनुगमनको नाममा स्थानिय निकायले र माथिको आदेशको नाममा बैंक र आन्तरिक राजस्व कार्यालयले गरेको आतंक सहि नसक्नु रहेको बताए।
यसैगरी कार्यक्रमका विशेष अतिथी धरान उप– महानगरका उपमेयर अईन्द्र बिक्रम बेघाले अहिले राज्यका सबै निकाय संकटमा रहेको बताउँदै सबै संकटबाट मुक्त हुन सबैले जिम्मेवारी पूर्वक लाग्न आग्रह गरे। उनले कोभिड महामारीले सबै संकटमा परेको अवस्थामा राज्यपनि चलाउन नीतिगत रुपमा सबैजना लागि पर्नुपर्ने बताए। उनले भने “अहिले यस्तो अवस्थामा एकले अर्कामाथि आक्षेप लगाउन हुँदैन, समस्यालाई सबैले साझा बनाएर अगाडी बढ्नुपर्छ, देश रहेमात्र हामी सबै रहने हो। व्यवसायी रुनु भएन, बैंकपनि रुनु भएन।”
यसैगरी व्यवसायी तथा संघका कार्यसमिती सदस्य नविन राजभण्डारीले बैंकमा पैसा बढी हुँदा बैंकका कर्मचारीहरु आफै ऋण लिनुपर्यो भन्दै घरघर आउने र पछि तरलता कम हँुदै गएपछि ऋण लिदा कमिशन र व्याजदर बढाउने गरेको गुनासो पोखे।उनले अहिले व्यापारीहरुलाई मर्कामा पारेर बैंकहरुले कमाएको देखिएकोले व्यवसायीहरुको पीडालाई माथि केन्द्रसम्म लगिदिन बैंकका प्रतिनिधीहरु समक्ष आग्रह गरे।
त्यस्तै व्यवसायी शान्ता अधिकारीले बैंकले ८/९ प्रतिशत व्याजदरलाई वर्षदिनमा १७/१८ प्रतिशत पुर्याएर दिउँसै डाका गरेको धारणा व्यक्त गरिन्। उनले लक डाउनको बेला बैंकले व्याजदर घटाउनुको साटो उल्टै मिटर व्याजमा बैंकहरु सामेल भएको आरोप लगाईन्। त्यस्तै व्यवसायी जय प्रकाश शर्माले व्याजदरमा वृद्धिको वास्तविकता बैंकर्सहरुले जवाफ दिनुपर्ने बताए।
कार्यक्रममा एनएमबि बैंक धरानका प्रबन्धक गोविन्द घिमिरेले राष्ट्रबैंकले ल्याएको सर्कुलरले व्यावसायी मात्र नभई व्यापारी, कर्मचारी सबै मारमा परेको बताए। उनले बंैकमा तरलता अभाव हँुदा जहिल्यैपनि व्याजदर बढ्ने यो नियम नै भएको बताउँदै बैंकहरुले लगानी गर्न पैसाको खाँचो भएको बेला अपरेटिङ चार्जको लागि पनि व्याजदर बढाउनुपर्ने बाध्यता रहेको सुनाए। यसैगरी मितेरी डेभलपमेन्ट बैंकका सिईओ तुलसी वस्तीले बैंकको व्याजदर नेपालमा मात्रै नभई अन्तराष्ट्रिय स्तरमा नै बढेको जानकारी दिए। उनले हिजोको दिनमा बैंकहरुले शतप्रतिशत नाफा कमाएपनि अहिलेको स्थितीमा बैंकको मुनाफाहरु पनि क्रमशःघट्दै गएको जानकारी दिए।
सो छलफल कार्यक्रममा संघले एक विज्ञप्ती जारी गर्दै विश्वव्यापी रूपमा खाद्यान्न तथा इन्धनको मुल्य वृद्धि हँुदै जानुले विश्व अर्थतन्त्रमा थप चुनौती थपिनुका साथै नेपाल जस्तो विकासोन्मुख देश आर्थिक मन्दीको चरम अवस्थामा पुग्न सक्ने प्रक्षेपण भैरहेको वर्तमान अवस्थामा बैंक तथा वित्तिय संस्थाहरूबाट गरिएको एकतर्फि र मनोमानी रुपमा गरिएको व्याजदर वृद्धिले व्यवसायीक क्षेत्र धरासायी बनेको बताउँदै व्याजदर नघटाए आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। (साभारः दिव्य रोशनी साप्ताहिक वर्ष १८ अंक २२ बाट)

11 thoughts on “ब्याजदर वृद्धिले उद्योगी/व्यवसायी विस्थापित हुने खतरा

टिप्पणीहरू are closed.