कसले जित्ला बुढासुब्बा गोल्डकपको उपाधी? (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ धरानमा जारी २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधी न्यु रोड टिम (एनआरटि) र मोरङ फुटबल क्लव दुबैले आ–आफुले जित्ने दावी गरेका छन्।
धरान रंगशालामा भोली शनिवार हुने फाइनलमा खेलबाट दुबै टिमले उपाधी जित्ने लक्ष्यका साथ मैदानमा उत्रने जनाएका छन्। आज शुक्रवार आयोजित प्रेस कन्फ्रेन्समा एनआरटीका मेनेजर राकेश लामाले दोस्रो पटक बुढासुब्बा गोल्डकपको उपाधी जित्ने दावी गरे। उनले यो सिजनमा इलाम गोल्डकप जितेको र मकवानपुर, केपी ओली कपको उपविजेता भइसकेकोले बुढासुब्बा गोल्डकपको उपाधी लिएरै घर फर्कने बताए। उनले भने “अहिले खेलाडीहरु पनि लयमा छन्। कोही पनि ईन्जुरी भएका छैनन्, विदेशी खेलाडी पनि भएकाले उपाधी जित्नेमा ढुक्क छौं।” यसैगरी कप्तान पुजन होनाले पनि खेलाडीहरुमा आत्मविश्वास बढेकाले उपाधी जित्ने दाबी गरे।


यसैगरी मोरङ फुटबल एशोसिएसनका प्रशिक्षक रानु राना मगरले टिममा अधिकांश ए डिभिजन क्लबका अनुभवी खेलाडी भएकोले उपाधी जित्ने दावी गरे। उनले फाईनल खेलमा विदेशी खेलाडीहरुपनि ल्याउन सक्ने बताउदै पहिलो पटक उपाधी जितेर ईतिहास रच्ने बताए। यसैगरी मोरङका क्याप्टेन अशोक खवासले एनआरटि राम्रो टिम भएपनि आफुहरु उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने बताए।
प्रतियोगिताको विजेता टिमले नगद १० लाखको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्भने उपविजेता टिमले नगद ५ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीले नगद १ लाख हात पार्नेछन्भने उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही नगद २५ हजार पाउनेछन्।त्यस्तै सर्वाधिक गोलकर्ताले नगद ३५ हजार प्राप्त गर्ने आयोजक धरान फुटबल क्लवका महासचिव नविन राईले बताए।