चुनावी एजेण्डालाई सार्थकता दिंदै मेयर हर्क साम्पाङ

मनिता (चाम्लिङ)राई
(धरान)/ स्थानिय तहको चुनावमा धरान उपमहानगरपालिकाको मेयरका उम्मेदवार हर्क साम्पाङले चौक चौकमा भोट माग्दै भनेका थिए “मलाई धरानको मेयर पदमा जिताउनुस्, म धरानवासीलाई खानेपानी खुवाउँछु ।” सधैं पानीको हाहाकार सामना गर्दै आएका मतदाताले साम्पाङको त्यो वचनलाई मतदान गरेर चुनाव जिताए । अहिले उनी त्यही प्रतिबद्धतालाई पुरा गर्न खानेपानी अभियानमा जुटेका छन् ।
मेयर पदको सपथ ग्रहण लगत्तै कुर्सीमा बस्न छाडेर पानीको खोजीमा सर्दुजलाधार क्षेत्र हिडेका मेयर साम्पाङ अझैपनि खोला धाउँदैछन् । “कसैले मलाई भेट्न आउनुपर्यो भने खोला किनारामा नै भेट्न आउनु” भन्दै आएका मेयर साम्पाङ अझैपनि कार्यालयीय काम सकेर खोलामा नै पुग्ने गर्छन् । बिदाको दिन पनि उनि खोलामै हुन्छन् । गएको शनिवार सर्दुखोलामा भेटिएका मेयर साम्पाङले आफुले धरानवासीलाई दिएको बाचा पुरा गर्न आफु अधिकांश समय खोला नै धाउने गरेको बताए ।
गत बैशाख ३० गते भएको स्थानिय तह निर्वाचनबाट धरानको मेयरमा निर्वाचित साम्पाङलाई कार्यालयीय समय बाहेक प्रायः खोला किनारमा नै भेटिन्छ । मेयर साम्पाङकै पहलमा अहिले सुख्खा मौसम शुरुवात भएपछि पनि धरानवासीले पर्याप्त मात्रामा खानेपानी पाईरहेका छन् । विगतका वर्षहरुमा मंसिर लाग्न नपाउँदै धरानमा खानेपानीको हाहाकार हुन्थ्यो । मेयर साम्पाङको खानेपानी अभियानले अहिले हिउँदमा पानी पाईरहेको धरान १३ की पार्वती राईले बताईन् । उनले भनिन् ‘मेयर साम्पाङले आफ्नो वाचा पुरा गर्दै हुनुहुन्छ ।’

भालुखोलाबाट धरान १५ मा पानी खसाल्दाको खुसीयाली


हिउँद वर्खा सधैं खानेपानीको अभाव हुने धरान ९ का तत्कालिन वडाध्यक्ष रत्न कट्वालले तत्कालिन धरान खानेपानी संस्थानमा रित्तो घैला लिएर गेटमा धर्ना समेत दिएका थिए । साम्पाङको अभियानले अहिले वडा ९ मा पानीको समस्या हटेको स्थानिय अन्दिला श्रेष्ठले बताईन् । उनका अनुसार पहिले आधाघण्टा पानी आउन पनि २/३ दिन पर्खनुपथ्र्यो अहिले दैनिक आउने पानी २ तला माथिको टंकीमा पानी चढ्ने गर्छ । धरान ७ बुद्धमार्ग होटल सन्ध्या ईनका प्रोप्राईटर रविन अधिकारीले भने ‘अहिले धरानको बजार एरियामा पनि टंकीमा पानी आभोर फ्लो भएरजाने गरेको छ ।’
मेयर साम्पाङको खानेपानी अभियानः
स्थानिय निर्वाचनमा खानेपानी मुद्धालाई लिएर निर्वाचित भएपछि मेयर हर्कराज साम्पाङ राईले धरानवासीलाई पर्याप्त मात्रामा खानेपानी दिलाउन अभियान नै चलाए । श्रमदानबाट शुरु गरिएको अभियानले धरानमा श्रम संस्कृतिको शुरुआत पनि छ । उनको खानेपानी अभियानमा छुट्याउनै नहुने नाम हो दत्त कुमार लिम्बु । साम्पाङकै समुहबाट उपमेयरमा उम्मेद्धारी दिएका लिम्बु निर्वाचनमा पराजित भएपनि अहिले मेयरसँंगै खानेपानी अभियानमा दिनहुँ खोला खोल्सीमा दिन बिताउँछन् ।
मेयर साम्पाङले धरानको खानेपानीका थप मुहान खोज्ने क्रममा पहिलोपटक पकुवा खोलाबाट पानी ल्याएको उनले बताए । मेयर साम्पाङले खानेपानी अभियानको प्रोजेक्ट मेनेजर तोकिएका लिम्बुले शुरुवातमा सचेत धराने समुह र स्वतन्त्र धरान नागरिक समाजका २० जना अभियन्ताहरुबाट यो अभियान शुरु भएको बताए । उनले भने “अभियानको क्रममा धरान १७ का कृष्ण माया राई र दिल बहादुर राईले खाजा खर्चका लागि ५ हजार रुपैयाँ सहयोग गरेपछि हामीहरु हौसिएर खानेपानी अभियानमा निरन्तर लागिपर्यौ ।”
धरानमा खानेपानीको लागि मिडियाको पनि महत्वपूर्ण भूमिका खेलेको लिम्बु बताउँछन् । असार साउनको झरीमा पनि मिडियाले न्यूज कभर गरेपछि श्रमदान गर्नेहरुको ओईरो नै लागेको उनको भनाई छ । विशेषगरी बिदाको दिन र शनिवार खोलामा ढुंगा बालुवा बोक्ने, पाईप तान्नेहरुको ताती नै लागेको सम्झिन्दै भन्छन् “एकैदिनमा १० हजार भन्दा बढी मानिस श्रमदान गर्न लर्को लागेको थियो ।”

मेयर साम्पाङ संगै खानेपानीको पाईप तान्दै श्रमदाताहरु


अभियानले २२ दिनमा पकुवाबाट ४ ईन्ची पाईपबाट साढे ४ किलोमिटर मंगलबारेको टंकीमा पानी खसालेको थियो । त्यसबेला हौसिएका अभियानकर्ताहरुको अर्को जोश जाँगरले सर्दु–निशाने खोलामा काम गर्न जाँगर चलेको लिम्बु बताउँछन् । उनी भन्छन् “त्यसपछि हामीले सर्दु–निशानेमा गोर्खा वेलफेयर ट्रष्टको सहयोगमा साढे दुईलाख लिटरको टंकी बनाई पानी ल्याउन शुरु गर्यौ ।” १ महिनापछिको श्रमदान अभियानले सर्दु निशाने खोलाबाट १० ईन्ची पाईपमा स्वस्तिका चौकको टंकीमा पानी झार्न सफल भएको उनले बताए ।
मेयर साम्पाङको अभियान त्यतीमै सिमीत रहेन । खानेपानी अभावको सामना गर्दै आएका धरानको सबैभन्दा ठुलो वडा १५ मा समस्या समाधान गर्न अभियान शिवजट्टा पुग्यो । शिवजट्टाबाटै पानी ल्याउने भनिएतापनि धरान ४ र १४ को मुख्य खानेपानीको मुहान नै त्यही भएकाले अवरोध गरियो । तथापी छलफलबाट भालुखोलाबाट पानी ल्याउने सहमति भयो । अहिले धरान १५ मा भालुखोलाबाट ६ ईन्चको पाईपमा पानी ल्याईएको छ । निराजन बस्तीमा ईन्टरकनेक्सन र खत्रीधारा नजिकै दाता र श्रमदानबाट १ लाख लिटरको पानी टंकी निर्माण गरिदैछ ।
अभियानको परिणाम स्वरुप अहिले धरानमा दैनिक रुपमा २ घण्टा भन्दा बढी पानी वितरण भईरहेको छ । केही स्थानमा २४ सै घण्टा पानी वितरण भईरहेको छ । समान आपूर्तिका लागि ईन्टर केनेक्सनको काम पनि शुरु गरिएको छ । यसअघि खानेपानी बोर्डले मंसिर महिना शुरु नहुँदै खानेपानीको अभाव भएको जनाउँदै दिन बिराएर पानी आउने सूचना जारी गथ्र्यो । अहिले पानी वितरणमा समस्या नभएको धरान १ का राजकिशोर साहले बताए । पार्वती होटलका संचालक साहका अनुसार गतवर्षसम्म पानीको अभावले होटल संचालन गर्न गाह्रो थियो ।
मेयर हर्क साम्पाङको अभियानले पानीको अभाव हुन नदिएको उनको भनाई छ । उनले भने “अब हेरौं गतवर्ष मंसिर महिना नलाग्दै खानेपानी अभाव भएको बोर्डले सूचना निकाल्थ्यो, यसवर्ष मंसिर महिना जान लाग्दापनि मजाले पानी आईरहेको छ ।’ २ हजार लिटरका ३ वटा टंकी सँधै फुल भईरहेको उनले बताए ।
सचेत धराने समुहका सदस्य समिर तामाङका अनुसार धरानमा खानेपानीको अभाव हुनु भनेको पानीलाई सहि तरिकाले संकलन गरी वितरण गर्न नसक्नु मुख्य समस्या हो । यसअघिका मेयरहरु कुर्सीमा बसेर गफ मात्र हाँक्ने तर काम नगर्ने प्रवृतिले खानेपानी समस्या समाधान हुनसकेको थिएन । उनले भने “गतवर्षसम्म पानीको हाहाकार मच्चिएको थियो, अहिले मंसिर महिना जान लाग्दा पनि पानीको अभाव भएको सुनिएको छैन ।’ यो धरानलाई खानेपानी खुवाउँछु भनेर लागीपरेका मेयर हर्क साम्पाङको अभियान र श्रमदानको प्रतिफल भएको उनको भनाई छ ।
३५ हजार घरधुरी जनसंख्या रहेको धरानमा खानेपानी बोर्डले अहिले विगतका वर्षहरुमा धन्दा धेरै पानी वितरण गरिरहेको छ । खानेपानीको स्रोत थप्न नसक्दा धरानवासीले वर्षायाममा दैनिक १ देखी २ घण्टा र सुख्खा मौसममा दिन बिराएर १ घण्टा मात्र खानेपानी पाउने गरेको थियो । अहिले केही सहज भएको छ । यद्यपी धरानमा २४ सैं घण्टा खानेपानी उपलब्ध गराउन मेयर हर्क साम्पाङ कोशीबाट नै पानी ल्याउनुपर्ने अडानमा छन् । उनी भन्छन् “मैले बाहिरबाट पानी ल्याएको छैन, खोलाहरुमा खेर गईरहेको पानीलाई सदुपयोग गरिएको मात्र हो, अभियानमा श्रमदान गर्न आग्रह गरेको छु, त्यसैको प्रतिफल स्वरुप अहिले धरानमा खानेपानी केही सहज भएको छ ।”

खानेपानी टंकी निमार्ण गर्न गिटी कुट्दै श्रमदाताहरु। ईन्सेटमा ढुंगा बोक्दै मेयर साम्पाङ

खानेपानी अभियानमा धराने जनताहरुलाई श्रमदान गर्न लगाएरै सफल भएकाले पनि धरानमा श्रम संस्कृतिको विकास भएको मेयर साम्पाङ बताउँछन् । उनले गरे सबै कुरा सम्भव भएकाले खाली भने बस्न नहुने तर्क समेत राख्छन् । उनले धरानवासीलाई पर्याप्त मात्रामा खानेपानी खुवाउँछु भनेर चुनावी एजेण्डामा नै राखेकाले आफुले भुल्न नहुने बताए । उनले भने “जबसम्म धरानवासीले पर्याप्त मात्रामा खानेपानी पाउदैनन् तबसम्म मलाई चुप लागेर बस्ने अधिकार छैन, खानेपानी समस्याको समाधान नहुन्जेल मलाई तपाईहरुले कार्यालयमा नभई प्रायः जसो खोला किनारामा नै पाउनु हुनेछ।”
गत मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधीसभाको निर्वाचनमा पनि उम्मेद्धवारहरुले धरानको खानेपानी समस्यालाई मुख्य मुद्धा बनाए । खानेपानी समस्यालाई मुद्धाले नै जनता समाजवादी पार्टीका नेता अशोक राईले प्रतिनिधीसभा सदस्यमा विजयी भए । विजेताको बधाई लिइरहँदा हामीले साधेका थियौ “तपाईले जित्नु भएको छ, के अब धरानको खानेपानी समस्या हल हुन्छ ?” उनले मेयर हर्कराज साम्पाङ राईसंँग मिलेर धरानको खानेपानी समस्यालाई हल गर्न आफु कम्मर कसेर लाग्ने बताएका छन् ।
उनले धरानको मुख्य समस्या खानेपानी समस्यालाई दिर्घकालिन रुपमा हल गर्न मेयर साम्पाङले कोशीबाट पानी ल्याउनुपर्छ भनेर भन्दै आएको स्मरण गराउँदै भने ‘अहिले त्यसको डिपीआर पनि बनिसक्यो होला, कोशीबाट पानी ल्याउन ठुलो बजेटको आवश्यक्ता पर्ने हुँदा संसदमा मेरो दबाव रहन्छ ।’ उनले धरानको खानेपानीको लागी २/३ अर्बको बजेट ल्याउन पहल गर्ने बताएका छन् । हेरौं उनको प्रतिबद्धता कति कार्यान्वयन हुन्छ ।

पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्नु हुँदै नवनिर्वाचित संघिय सांसद अशोक राई

मेयर साम्पाङको खानेपानी अभियान सकरात्मक रहेको बताउँछन् बुद्धिजिवी विश्लेषक डा. कमल तिगेला लिम्बु । उनले मेयर साम्पाङको खानेपानीको अभियानमा राजनैतिक दलहरुले खुट्टा तान्न नहुने बताए । असार साउनमा पनि पानी खान मोटरले तान्नुपर्ने अवस्थामा अहिले त्यो समस्या नभएको डा. तिगेलाको भनाई छ । उनले भने “राम्रो कामलाई राम्रो भन्नुपर्छ । यसअघि मेयर साम्पाङ भन्दा शक्तिशाली अन्य राजनैतिक दलहरुपनि थिए, मेयर /उपमेयर पनि भए तर किन गर्न सकेनन् ? राम्रो कामलाई सबैले प्रोत्साहित नै गर्नुपर्छ ।”
धरान खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलले मेयर साम्पाङको खानेपानी अभियानले गर्दा सुख्खा मौसम शुरु हुँदापनि विगतका वर्षहरुमा जस्तो यसवर्ष धरानमा पानीको हाहाकार नभएको बताए । पानीका स्रोतहरुलाई संकलन गरेकै कारण खानेपानी धरानवासीलाई उपलब्ध गराउन सकेको उनको भनाई छ । उनका अनुसार हाल धरानमा दैनिकरुपमा २ करोड लिटर पानी विवतरण भईरहेको छ ।

10 thoughts on “चुनावी एजेण्डालाई सार्थकता दिंदै मेयर हर्क साम्पाङ

टिप्पणीहरू are closed.