किरात याक्थुङ चुम्लुङले पाँचदिने चासोक तङ्नाम भव्य रुपमा मनाउने
दिव्य रोशनी(धरान)/ किरात याक्थुङ चुम्लुङ धरान नगर समितीले पाँचदिने चासोक तङ्नाम भव्य रुपमा मनाउने भएको छ।
धरान–१५ स्थित चुम्लुङ हिम परिसरमा बुधवार आयोजित पत्रकार सम्मेलनमा पाँच दिने चासोक तङ्नाम उत्सव बुधवार साँझदेखी शुरु हुने र मंशिर २२ गते बिहीबार औपचारिक रूपमा उद्घघाटन हुने जनाएको छ। पत्रकार सम्मेलनमा चुम्लुङका केन्द्रिय उपाध्यक्ष कमल तिगेलाले पाँचदिने चासोक तङ्नाममा लिम्बु जातिको परम्परागत च्याबु्रङ नृत्यको प्रतियोगिता, लिम्बु जातिले खेल्दै आएका खेलहरू, अदिकालमा पहिलो पटक हाते तानमा युमाले धागोबाट कपडा बुनेर लगाउन थालेको मुन्धुम अनुसारको थाक्थाक्मा प्रदर्शन सहित साँझका बेला सांस्कृतिक प्रस्तुतिहरू हुने बताए। उनले चासोक तङ्नाम उत्सवमा १७ वटा स्टलहरू रहने र परम्परागत लिम्बु परिकारहरू समेत पाइने बताए।

यसैगरी चासोक तङ्नाम उत्सव प्रचार समितिका संयोजक स्वर्णिमहाङ फोम्बोले लिम्बु भाषा संस्कृतिलाई समृद्ध बनाउने लिपिका प्रवर्तक सिरिजंगाको धरान ८ तीनकुने चौक स्थित पूर्णकदको सालिकमा बाजागाजा सहित सम्मान प्रकट गर्दै माल्यार्पण गर्ने बताए। उनले सोही अवसरमा अढाई सय वर्ष अघि लिम्बुवानको राजधानीको रूपमा रहको विजयपुर स्थित दरबार स्थलमा चासोक मेला सुरु हुनअघि च्याबु्रङका समूहहरू सहित फेदाङमा येबाहरुद्धारा पूजा अर्चना गरिने समेत बताए।
चुम्लुङ्ले यसवर्षदेखी लिम्बु समुदायको धार्मिक अनुष्ठान तङसिङ सामूहिक रूपमा मनाउने अभ्यास पनि सुरु गरेको छ । परिवारको शिर उठाउन, सुख, समृद्धि, गाली सराप बगाउने, रोगव्याधी दुःख बिमारबाट मुक्ति सुस्वास्थ्यका लागि गरिने तङसिङ तिन रात सम्म चल्ने केन्द्रिय उपाध्यक्ष तिगेलाले बताए। उनले एक परिवारले एक ठाउँमा गर्दै आएको यो धार्मिक अनुष्ठानमा लाखौँ रुपैंया सम्म खर्च हुने भएकाले सामान्य आयस्रोत तथा गरिब परिवारले गर्न नसक्ने भएकाले तङसिङ सबैको पहुँचमा पुर्याउन चुम्लुङ्ले सामुहिक तङसिङ अनुष्ठान गर्ने अभ्यास गरेको समेत बताए।
लिम्बू जातिले उभौली याममा यक्वा पूजा बीउ बिजन छर्ने समयमा मनाउँछन्भने चासोक तङ्नाम न्वागी पूजा उँधौली याममा बालीनाली भित्र्याउने बेलामा धूमधामले मनाउँने गर्दछन्।उभौली र उँधौली याममा सम्पन्न गरिने यी दुवै चाडपर्व कृषि कर्मसँग सम्बन्धित छन्।