धरानमा २९ औं विश्व आदिवासी दिवस मनाईयो(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ २९ औं विश्व आदिवासी दिवस धरानमा पनि मनाईएको छ। नेपाल आदिवासी जनजाती महासंघ धरान नगर समन्वय परिषदको आयोजनामा विश्व आदिवासी दिवस मनाईएको हो।
कार्यक्रममा प्रमुख अतिथी धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आदिबासीहरु जनजाति नभएको बताउदै आदिबासीहरुलाई मुलबासी भन्नुपर्ने बताए। उनले अरुको काम गर्ने खेतलालाई आफुले जनजाती भन्ने बुझेको बताए। उनले भने “मैले बुझेको जनजाति भनेको खेताला हो, हामी खेताला हो त ? हाम्रो समुदायका मान्छेहरुलाई हेर्दा एक प्लेट चाउमिनमा झगडा गर्न जानुपर्ने, ढुंगा हान्न जानुपर्ने, एक हजार पैसा र पदको लोभमा अरुको लागि हिड्ने त्यो जनजाति हो।”


सोहीक्रममा मेयर साम्पाङले आदिवासी, मुलवासीहरु सभ्यता, सँस्कार, भाषा र छुट्टै सीप बोकेर हिड्ने व्यक्ति भएको समेत बताए। कार्यक्रममा उपमेयर अइन्द्र बिक्रम बेघाले धरानमा जात र धर्मको नामबाट वितण्डा मच्चाउन केही तत्वहरु लागिपरेको बताउँदै त्यस्ता तत्वहरुबाट सबै सचेत बन्दै खबरदारी गर्नुपर्ने बताए । उनले नेपाली समाज धार्मिक र जातीय लडाई नचाहने भएपनि धार्मिक सद्भाव, जातीय सद्भाव विथोल्ने तत्वहरु सक्रिय भएको पनि बताए। उनले भने, “धार्मिक सद्भाव, जातिय सद्भाव र सहिष्णुता बोकेको सहरधरानमा फेरि द्धन्द गर्न लागिपरेका छन्। हामी सबै मिलेर बस्यौ र मिलेर अघि बढ्यौं भने देश समृद्धिको दिशामा अघि बढ्छ।”


कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ सुनसरीका पूर्व अध्यक्ष सुजेन्द्र गोले तामाङले आदिवासी जनजातीहरु डेंगुको शिकार भईरहेको अवस्थामा राज्यका निकायहरु परिचालन नभएको आरोप लगाए। कार्यक्रममा आदिवासी अभियन्ता सन्जोग मगर, शंकर लिम्बु लगायतले बोलेका थिए।
नेपाल आदिवासी जनजाती महासंघ धरान नगर समन्वय परिषदका अध्यक्ष सुवास हुक्पाचोबाङको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमअघि धरान १२ स्थित पब्लिक हाईस्कुलबाट निकालिएको र्यालीले धरान नगर परिक्रमा गर्दै कार्यक्रम स्थल चुम्लुङ हिममा पुगी सभामा परिणत भएको थियो।

One thought on “धरानमा २९ औं विश्व आदिवासी दिवस मनाईयो(भिडियो सहित)

टिप्पणीहरू are closed.