६ वर्ष पछि धरानमा कन्दराको लाईभ प्रस्तुती

दिव्य रोशनी(धरान)/ ६ बर्ष अघि धरानमा भब्य कन्सर्ट सम्पन्न गरिसकेको कन्दरा ब्याण्डले पुनः शनिवार धरानको सांगितीक माहौल तताएको छ।
सिल्भर इन्टरटेनमेन्टको आयोजनामा शनिवार धरान रंगशालामा लोकप्रिय ब्याण्ड कन्दरा आफ्नो नयाँ टिमअप सहित “कन्दरा लाईभ इन धरान” सांगीतिक कार्यक्रम मार्फत धरानको सांगितीक माहौल तताएको हो। “बिचरा म” बोलको नयाँ गीत लिएर धरानको स्टेजमा उत्रिएको कन्दराले “लेककी हे माया”, “तगारोमा रुमाल राखी”,“जिन्दगी उत्सव हो”, “हङकङ पोखरा”, “चञ्चले कान्छीको जोवन”, “‘लेककी हे माया”, “तिमी पारी त्यो गाउँमा” , “विदेशीएर गइन् उनी”, “भेंडी गोठैमा”, “प्रियसीको कल्पनामा”, “बिश्वासको दियो” लगायतका एक दर्जन बढी नयाँ तथा पुराना चर्चित गीतहरु पस्केर धराने दर्शकहरुलाई जुरुक्कै उचालेका थिए।


कन्दरा ब्याण्डमा अहिले गायक विवेक श्रेष्ठ र सुनिल थापासँगै, नेपालमै पहिलोपटक जिप्सी ज्याज म्युजिक भित्राएका हरि महर्जन, पछिल्लो पुस्ताका चर्चित गितार वादक देव लामा, वेस गितारमा पंकज झा, ड्रमसेट र मादल (प्रक्रिउजन) मा विज्ञ सुन्दर महर्जनको टिमअप रहेको छ।
तिन दशकदेखि निक्कै नै लोकप्रिय ब्याण्ड कन्दराका मुख्य गायक बिबेक श्रेष्ठ बिचमा विदेश पलायनले सुस्ताएको थियो। तर गायक बिबेक श्रेष्ठको नेपाल आगमन संगै कन्दरा पुरै जोशजाँगरका साथ नया टिमअपमा मैदानमा आएको छ। गत पौष २७ गतेको आफ्नो पहिलो संगीत यात्रा “पहिला घरदेश अनि परदेश” भन्ने नाराका साथ आफ्नो घरेलु मैदान पोखरामा सम्पन्न गरिसकेको छ। सातै प्रदेशको मुख्य शहरहरुमा कन्सर्ट आयोजना गर्ने पहिलो लक्ष्य अनुरुप धरानमा कन्दराको यो टिमअपको दोस्रो कन्सर्ट हो। यसपछि चितवन , सुर्खेत , नेपालगंज , बुटवल, जनकपुर, काठमाडौँ लगायतका प्रमुख शहरहरु संगै नेपालका कुना–कन्दरा लगायतका सम्पूर्ण ठाउँमा आफ्नो कन्सर्ट लिएर जाने योजना रहेको कन्दराका मुख्य गायक बिबेक श्रेष्ठले बताए।
६ बर्ष अघि धरानको पब्लिक हाईस्कुलको मैदानमा धराने दर्शकहरुको पुरै साथ पाएकोले पनि आफ्नो नयाँ टिमअप सहितको कन्दराले पोखरा पछि धरानमा नै कन्सर्ट गर्न रोजेको शहर हो। कन्दरा ब्याण्डले २६ बर्ष अघि पनि धरानको गणेश टाकिजमा आफ्नो पहिलो धरानको कन्सर्ट गरेको थियो।(दिव्य रोशनी साप्ताहिकबाट)