“एक भागवत र एक गीता को सुखद ओपनिङ

दिव्य रोशनी(धरान)/ शुक्रबारबाट प्रदर्शनमा उत्रिएको नेपाली फिल्म ‘एक भागवत र एक गीता’ ले घरेलू बक्स अफिसमा सुखद सुरुवात गरेको छ।
फिल्मले शुक्रबार दिउँसो ६० प्रतिशतमाथि अकुपेन्सी कायम गर्न सफल भएपनि शनिवारदेखी दर्शकको उपस्थिति राम्रो पाएको धरान स्थित फ्रेण्ड्स सिनेमाका म्यानेजर शन्देस घिमिरेले बताए। झरना थापा निर्देशित ‘एक भागवत र एक गीता’ले यौनिक अल्पसंख्यक समुदायको कथालाई उठान गरेको छ । बलियो ‘वर्ड अफ माउथ’ मिलेको अवस्थामा तीज को सार्वजनिक विदाको फाइदा यस फिल्मले राम्रो उठाउन सक्नेछन्। फिल्ममा विपिन कार्की ट्रान्सजेन्डरको भूमिकामा रहेका छन् । फिल्म चल्ने आधार नै उनलाई मानिएको छ ।
फिल्ममा मैथिली भाषाको गीत ‘झिँझिँया’ निकै नै चर्चित छ । मैथिली समुदायमा दुर्गा पूजाको अवसरमा यो गीतमा नृत्य गर्ने प्रचलन छ । त्यही गीतलाई नयाँ शैलीमा तयार गरेर फिल्ममा समावेश गरिएको छ । जनकपुरको जानकी मन्दिरको परिसरमा छायांकन गरिएको गीतमा अभिनेत्री सुहाना थापाले आकर्षक नृत्य प्रस्तुत गरेकिछिन् भने उनीलाई विपिन काकीले पनि सघाएका छन्। लोक भाव रहेको गीतमा नेहा प्रियदर्शनी र प्रवेश मलिकको युगल स्वर रहेको छ भने यस गीतलाई गायक मलिकले नै संगीत दिएका छन् ।
सुनील कुमार थापाको निर्माण रहेको फिल्ममा सुहाना र विपिनसँगै धीरज मगर, जेभिस श्रेष्ठ, जेभिन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, राम कैलाश ठाकुर, धीरज ठाकुर, सुरेन्द्र राय, गंगाकान्त झा लगायतको पनि अभिनय रहेको छ । फिल्मको कन्सेप्ट सुहाना थापा र कथा झरना थापाको हो । फिल्ममा झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा तथा परिक्षेद, पुरुषोत्तम र सरिनको संवाद लेखन छ ।
राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको फिल्मको निर्मातामा सुहाना थापा छिन् । विपिनको भूमिका र लुक्सका कारण यो फिल्म चर्चाको केन्द्रमा छ । उनले पहिलो पटक ‘ट्रान्सजेन्डर’को भूमिका निर्वाह गरेका हुन् । यो फिल्म चल्ने मुख्य आधारलाई नै उनलाई मानिएको छ । साथै दर्शकमा पनि उनको भूमिकालाई लिएर कौतुहलता देखिएको छ।
यसअघि “एक भगवत् गीता” शीर्षकलाई लिएर ठूलो विवाद जन्मिएको थियो । केही धार्मिक संस्थाहरुले हिन्दू धर्मग्रन्थबाट नाम लिएर फिल्म बनाएकोमा आपत्ति जनाउँदै चलचित्र विकास बोर्डदेखि सञ्चार मन्त्रालयसम्म नाम हेर्न माग गर्दै निवेदन दिएका थिए । अन्ततः ठूलो रस्साकस्सीपछि बोर्डको रोहवरमा नयाँ शीर्षक ‘एक भागवत र एक गीता’मा सहमति जुटाउँदै विवादलाई अन्त्य गरिएको थियो ।
‘यूनिभर्सल सर्टिफिकेट’ पाएको ‘एक भागवत र एक गीता’ फिल्म २ घण्टा १९ मिनेट २९ सेकेण्डको रहेको छ।(दिव्य रोशनी साप्ताहिकबाट)