धरान मेघा रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिताको उपाधी होलिल्याण्ड स्कुललाई

दिव्य रोशनी(धरान)/ दोस्रो धरान मेघा रेवाहाङ मेमोरियल अन्तर स्कुल बास्केटवल प्रतियोगिताको उपाधी होलिल्याण्ड स्कुलले जितेको छ।
शनिवार धरान मेघा कलेजको बास्केटबल कोर्टमा भएको अत्यन्तै रोचक फाइनल खेलमा डिपोट स्कुललाई ५६–५५ को झिनो अन्तरले पराजित गर्दै होलिल्याण्ड स्कुलले उपाधी जितेकोे हो। उपाधि संगै होलिल्याण्डले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ। यसैगरी उपविजेतामा सिमित डिपो स्कुलले नगद १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ ।
खेलको पहिलो क्वाटरमा डिपो स्कुले १२–८, दोस्रो क्वाटरमा १८–१२ अंकको अग्रता लिएको थियोभने तेस्रो र चौथो क्वाटरमा होलिल्याण्ड स्कुलले २१–१९ र १५–६ अंकको अग्रता बनाउदै उपाधि जित्न सफल भएको थियो। प्रतियोगितामा होलिल्याण्डका करुण तामाङ उत्कृष्ट खेलाडि घोषित भए। उनले नगद २ हजार ५ सय सहित ट्रफि र प्रमाणपत्र पाए। यसैगरी प्रतियोगिता अवधिभरि चार खेलबाट व्यक्तिगत ८४ स्कोर गरेका डिपो स्कुलका रुपक श्रेष्ठले हाई स्कोरर घोषित भए। उनले नगद २ हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै प्रतियोगिताको इमर्जिङ टिमको उपाधि प्रभात इग्लिस वोर्डिङ स्कुलले प्राप्त गरेको थियो।
प्रतियोगिताको फाइनल खेल अघि आयोजना गरिएको थ्री पोइन्ट कम्पिटिसनमा ८ जनालाई हराउदै सियोन स्कुलका रिसव कुँवर च्याम्पियन बनेका थिए। उनले नगद दुई हजार रुपैया सहित ट्रफि र मेडल प्राप्त गरेका थिए । विजेता तथा उपविजेता खेलाडिहरुलाई कार्यक्रमका सभाध्यक्ष धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्वु, प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र वेघा, पुर्व संघिय सांसद जयकुमार राई, सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदी, दिवंगत रेवाहाङका बुवा आमा रेवतिरमण राई र सुजता राई लगायतले पुरस्कार वितरण गरेका थिए। प्रतियोगितामा धरानका १६ वटा टिमले सहभागिता जनाएका थिए।
प्रतियोगिता उदयमान बास्केटवल खेलाडि रहेका दिवंगत रेवाहाङ राईको स्मृतिमा उनको परिवार, धरान मेघा कलेज र धरान बास्केटवल संघको सहकार्यमा प्रतियोगिताको आयोजना गरिएको हो । दिवंगत रेवाहाङको २०७७ माघ २० गते १६ वर्षको कलिलो उमेरमा निधन भएको थियो । उनको संझनामा उनको परिवारले दुई लाख रुपैयाको अक्षय कोषको स्थापना गरि गत साल देखि धरान मेघा रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिता सुरु गरेको थियो।(दिव्य रोशनी साप्ताहिकबाट)