आगामी असोजमा मिस्टर धरानको २२ औं संस्करण हुने(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ आगामी असोज १९ गते २२ औं मिस्टर धरान बडिविल्डिङ प्रतियोगिताको आयोजना हुने भएको छ ।
यसअघिको २१ औं संकरणसम्म सुनसरी शारिरीक सुगठन तथा अन्य जिमहलको आयोजनामा हुँदै आएतापनि पहिलो पटक हाम्रो व्यायामशालाको आयोजनामा मिस्टर धरानको २२ औं संस्करण हुन लागेको हो। आज आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै हाम्रो व्यायामशालाका अध्यक्ष समिनकला राईले नेपाल शारीरिक सुगठन संघ केन्द्रीय समितिबाट स्वीकृति लिएर हाम्रो व्यायामशालाले पहिलो पटक मिस्टर धरान आयोजना गर्न लागेको जानकारी दिईन् । उनीले शारीरिक सुगठन मार्फत खेलको विकास र प्रवद्र्धन गर्न तथा युवा जगतमा देखिएको विकृति र विसंगतीलाई हटाउने प्रतियोगिताको मुख्य उद्धेश्य रहेको समेत बताईन्।
प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी र ७० केजी तौल समुहमा प्रतिस्पर्धा हुनेछ। २० जना भन्दा बढी प्रतियोगी सहभागी भएमा प्रतियोगिताको अघिल्लो दिन प्रि जजिङ राउण्ड र दोस्रो तथा अन्तिम दिन प्रि जजिङ राउण्डबाट प्रत्येक तौल समुहबाट ५ जनागरी २० जना खेलाडी फाइनलको लागि छनौट हुने व्यायामशालाका सचिव अमन श्रेष्ठले जानकारी दिए।


प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार सहित ट्रफि प्राप्त गर्नेछभने दोस्रो हुने खेलाडीले नगद ७५ हजार प्राप्त गर्ने व्यायमशालाका कोषाध्यक्ष सन्तोष राईले बताए। उनका अनुसार तेस्रो हुनेले ३५ हजार र चौथो हुनेले २५ हजार पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै वेष्ट पोजर र मोष्ट मस्कुलर खेलाडीले पनि नगद १० हजार पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको अनुमानित कुल खर्च ८ लाख ६५ हजार रहेको छ। जसमा पुरस्कारमा मात्र कुल ३ लाख ५ हजार खर्च हुनेआयोजकको भनाई छ।
धरान ८ स्थित सभागृहमा हुने प्रतियोगितामा सहभागी हुन धरानको स्थायी बासिन्दा अथवा धरानमा ५ बर्षदेखि बसोबास भएको खेलाडी हुनुपर्ने आयोजकले जनाएको छ।