चलचित्र “चारदाम” को ट्रेलर र गीत ईटहरीमा सार्वजनिक

दिव्य रोशनी(धरान)/ तामाङ जातीको संस्कार संस्कृतिमा आधारित चलचित्र “चारदाम”को ट्रेलर र गीत सार्वजनिक गरिएको छ।
शनिबार इटहरीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र युनिटले ट्रेलर र “मेरो अंगालोमा” बोलको गीत सार्वजनिक गरेको हो। मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता रहेको “चारदाम” कोशी भिजनको ब्यानरमा निर्माण गरिएको हो। सार्वजनिक गरिएको ट्रेलर र गीतलाई कोशी भिजनकै नाममा रहेको युट्युब च्यानलबाट सार्वजनिक गरिने निर्माण युनिटले जानकारी गराएको छ।
कार्यक्रममा चलचित्रका प्रस्तुतकर्ता मोहन लोप्चन तामाङले लोपोन्मुख हुँदै गएको तामाङ जातीको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले चलचित्र निर्माण गरिएको बताए।
उनले यस चलचित्रलाई यहि मङ्सिर ३० गते इटहरीमा प्रिमियर गरिने बताउँदै इटहरीको इलाईट सिनेमा हलमा १२ बजे गरिने प्रिमियर शोमा सबैलाई उपस्थित हुन समेत आग्रह गरे। इटहरीको प्रिमियर पश्चात काठमाडौ, पोखरा, भोजपुर, धरान, बेलबारी लगायतका स्थानमा पनि प्रिमियरको तयारी भैरहेको निर्माण युनिटले जानकारी गराएको छ। चलचित्र युनिटले यसअघि गएको दशैँको अवसर पारेर अफिसियल पोस्टर समेत सार्वजनिक गरेको थियो।
भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायांकन गरिएको यस चलचित्रमा ३ ओटा गीत पनि समावेश रहेको छ । चलचित्र “चारदाम”मा सुकुमाया मोक्तान तामाङ, सुवास योन्जन तामाङ, मदन राई, शान्ती पाख्रीन, पुर्ण लिम्बू, मोहन लोप्चन, मेनुका राई, डम्बर कुमारी लिम्बू, कान्छा लामा, बाल कलाकार सुम्निमा तामाङ लगायत कलाकारहरुको अभिनय रहेको छ । यस चलचित्रमा दिपक लिम्बू, मुना ठटाल, पुर्ण लिम्बू, जोनी तामाङ र पदम ग्यावा तामाङले गीत गाएका छन्भने प्रेम कृष्ण बजगाई, जोनि योन्जनले संगीत गरेको गीतमा बजगाई, निर्देशक लाखमान र पुर्ण लिम्बुको शब्द समावेश गरिएको छ। गीतहरुमा राजु कार्की र जोनी तामाङले एरेन्ज गरेका छन्। अशोक मण्डलको शृंगार, सुमन तामाङको छायांकन तथा हेमन तामाङको सम्पादन रहेको चलचित्र “चारदाम”लाई मैना घिसिङ, मदन बहादुर राई, पुर्ण लिम्बू र वर्षा राजभण्डारी तामाङले निर्माण गरेका हुन्। चलचित्र युनिटले “चारदाम”को सम्पुर्ण डिजिटल राइट्स ओएसआर डिजिटललाई बिक्री गरेको छ।
ट्रेलर तथा गीत सार्वजनिक कार्यक्रमम नेपाल तामाङ घेदुङ केन्द्रिय संरक्षक सदस्य मनु मोक्तान, लक्ष्मण मोक्तान, जिल्ला उपाध्यक्ष हस्त पाख्रीन, नगर अध्यक्ष मोहन लोप्चन, महिला नगर अध्यक्ष कोपिला घिसिङ, संघीय सदस्य जानुकला पाख्रीन, फिल्म नाङ्साल निर्माता तथा कलाकार गणेश योन्जन तामाङको समेत उपस्थिति रहेको थियो। (दिव्य रोशनी साप्ताहिकमा प्रकाशित)