धरान एक्स्पोमा शुक्रवार छेवाङ लामा आउदै

दिव्य रोशनी(धरान)/ धरानमा जारी ‘धरान एक्स्पो २०७९’ को दोस्रो दिन आज (शुक्रबार) छेवाङ लामाले साङ्गीतिक प्रस्तुति दिने भएका छन् ।
धरान रङ्गशालामा जारी एक्स्पोमा गायक लामाले इसाराले बोलाउ तिमी, लाहुरे, तिम्रै मायाले, लजाउने बानी, आमा जस्ता चर्चित गीति कोसेली मार्फत दर्शक÷श्रोतालाई झुमाउने भएका छन्।साँझ ०५ः३० बजेदेखि गायक लामाको प्रस्तुति रहने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए।उनका अनुसार गायक लामा बाहेक शुक्रबार विभिन्न स्थानीय कलाकार र समूहको विशेष प्रस्तुति रहनेछ।
सुनसरीको व्यापारिक, औद्योगिक एवम् व्यवसायीक प्रवद्र्धन गर्ने मुख्य उद्देश्य राखिएको एक्स्पो फागुन ११ बाट २० गतेसम्म आयोजना हुँदैछ । उद्योग वाणिज्य संघ सुनसरीको आयोजना रहेको एक्स्पोमा एक सय २३ स्टल राखिएका छन् । एक्स्पो अवलोकनकर्ताले दिउँसो एक बजेसम्म निःशुल्क, दिउँसो एक बजेदेखि पाँच बजेसम्म ५० रुपैयाँ र साँझ पाँच बजेपश्चात्त दुई सय रुपैयाँका दरले टिकट खरिद गर्नुपर्ने आयोजकले बताएको छ ।
एक्स्पो अवलोकनकर्ताको सहजीकरणका लागि धरानका विभिन्न स्थानबाट निःशुल्क एकतर्फी बस सेवा समेत उपलब्ध गराइएको छ। साथै, एक्स्पो अवधिभर एक्स्पो स्थलसम्म सञ्चालन हुने अटोमा पनि छुट उपलब्ध गराइएको आयोजकले बताएको छ ।
फागुन २० सम्म आयोजना हुने एक्स्पोमा १० करोड बढीको कारोबार हुने र तीन लाख बढीले अवलोकन गर्ने अनुमान गरिएको छ।