लिम्बु विद्यार्थी मञ्चले दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन धरानमा गर्ने

दिव्य रोशनी(धरान)/ लिम्बु विद्यार्थी मञ्चले दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन गर्ने जनाएको छ ।
आईतवार धरानमा आयोजित पत्रकार सम्मेलनमा महासम्मेलन मूलआयोजक समितीका संयोजक नितेश सिंगकले आगामी चैत ६ गते देखी १० गतेसम्म लिम्बु विद्यार्थीहरुको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन लिम्बुवानको विजयपुर धरानमा आयोजना गर्न लागिएको बताए। उनले विश्वमा रहेका लिम्बु विद्यार्थीहरुलाई भावनात्मक रुपमा एकिकृत गर्न र याक्थुङ लिम्बुहरुसंग सम्बनिधत विभिन्न पक्षहरुमा बृहत छलफलगरी समुदायलाई एकताबद्ध गर्न सम्मेलनको प्रमुख उदेश्य हुने समेत जनाए। उनका अनुसार महासम्मेलनमा विश्वका १७ देश भारत, भुटान, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, जर्मनी, फ्रान्स सहित नेपालको १४ जिल्लाका एक हजार भन्दा बढी विद्यार्थीहरू सहभागी हुनेछन्।
यसैगरी मञ्च स्थापना भएको २५ वर्ष पुगेको अवसरमा युप्पा तङ्वे(रजत जयन्ती) काने अवसर पारेर चैत्र ६ गते के.लाङ, येवालाङ, माङलाङ र याःलाङ प्रदर्शन गर्दै विशाल र्याली सहित सम्मेलनको उद्धघाटन हुने आयोजकले जनाएको छ।
यसैगरी चैत्र ७ र ८ गते दुईदिन अन्तर्राष्ट्रिय सभा हुनेछ। सभामा लिम्बु भाषाको इतिहास र लिपिको विकास क्रम, भाषिक आन्दोलन र मातृभाषामा उच्च शिक्षा, लिम्बु भाषा पाठ्यक्रम निर्माण र विकास क्रम, किरात धर्म र संस्कार, संस्कृति, समुदायमा युमा धर्म र दर्शन, लिम्बुवानको भूमि अधिकार लगायतका २२ वटा कार्यपत्रमा छलफल हुने आयोजकले जनाएको छ।