नसर्ने तथा दीर्घरोगीहरुको पहिचान गरी रोकथाम गर्न,केएचडिसी मार्फत् समुदायमा स्क्रिनिङ गरिंंदैं

मनिता चाम्लिङ
(धरान)/ धरान १६ न.ं वडा कार्यालयको आयोजनामा १ महिना देखी केएचडिसी(KHDC) कार्यक्रम मार्फत् दीर्घरोगीहरुको पहिचानगरी रोकथाम गर्न स्वास्थ्य जाँच गरिंदै आएको छ।
वडाका कोहीपनि नागरिक स्वास्थ्य जाँच गर्नबाट नछुटुन् भनी एक महिने अभियान अन्तर्गत गणेशमान चौकको पंचायत स्कुलदेखी शुरुवात भई, चन्द्र संस्कृत र अल्फा एकेडेमीमा शिविर सम्पन्न भईसकेको छभने लिगामेन्ट स्कुलमा हाल शिविर चलिरहेको छ। वडाध्यक्ष मुरारी प्रसाद भट्टराईले जनआकांक्षा अनुरुप ३ दिन बढाउनुपर्ने माग आएसंँगै नौलो बस्ती र गैरी गाउँहरुमा पनि शिविर संचालन हुने बताए। साथै उनले नजिकै हस्पिटल भएपनि रोग लुकाएर बस्नेहरुका लागी स्वास्थ्य शिविर राखिएको बताए। शिविरमा केएचडिसी(KHDC) कार्यक्रम अन्तर्गत मुटु, मृर्गौला, प्रेसर, सुगर, कोलस्ट्रोल लगायतका जाँच हुने भएकाले एक प्रकारले भन्ने हो भने पुरै होलबडी नै जाँच हुँने अध्यक्ष भटेटराईले जानकारी दिए।
शिविरमा विपी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षाध्यक्ष प्रा.डा. संजिव शर्माको नेतृवमा डा. रोहन बस्नेत (मेडिकल अफिसर) डा. प्रदिप कट्वाल, डा. मनिष उप्रेती, डा. अविनाश देवको टिमले समुदायमा स्क्रिनिङ गरिरहेका छन्। वडाअध्यक्ष भट्टराईले जनताप्रतिको उत्तरदायित्व जिम्मेवारी बहन गर्नेक्रममा सबैभन्दा पहिला वडाको प्राथमिकता भनेकै जनताको सु–स्वास्थ्य भएकाले स्वास्थ्य ठिक भए जे काम पनि गर्नसकिने भएकाले वडाले स्वास्थ्यलाई प्राथमिकता दिएको बताए। उनका अनुसार हालसम्म २२ सय जना रोगीले स्वास्थ्य लाभ लिएको देखिएका छन्। हालसम्म केही व्यक्तिहरुमा किड्नीमा स्टोन देखिएको छभने दैनिक मर्निङ वाक गर्ने, शारिरीक व्यायम गर्ने व्यक्तिहरुको स्वास्थ्य रिपोर्ट राम्रो पनि आईरहेको छ। विशेषगरी मजदुर र चालकलाई स्वास्थ्य परिक्षण गराउन दवाब नै दिएको छ किनकी उनीहरुको जिवन व्यस्त हुने भएकाले पनि स्वास्थ्य परिक्षण गर्न लगाईएको अध्यक्ष भट्टराईले बताए।
शिविरमा उपचारका लागी आएका माया शंकरले उपचार सेवा राम्रो पाएको बताईन्। उनले सुगर बढी भएर ईन्सुलिन लिनु परेको बताउँदै सुगर नियन्त्रणका लागी चिकित्सकले सल्लाह दिएको बताईन्। यसैगरी शिविरमा भेटिएका अर्का सेवाग्राही मान बहादुर राईले शिविरमा आफुजस्ता धेरै अग्रज व्यक्तिहरुले स्वास्थ्य लाभ लिईरहेको बताए।
यसैगरी स्वास्थ्य शिविर संचालन गरिरहेका विपी प्रतिष्ठान धरानका प्राडा. संजिव कुमार शर्माले २० वर्ष अघि सन् २००३ देखी यो केएचडिसी प्रोग्राम देशका कुना कुनामा संचालित भएको जानकारी दिए। उनले दीर्घ रोगहरु, जस्तै मुटु रोग, मृगौला रोग, उच्च रक्तचाप, मधुमेह रोग तथा कोलस्ट्रोल रोग यी रोगहरुको खासै लक्षण नदेखिने साथै मृगौला ड्यामेज भएमा, हार्ट अट्याक आएमा, मात्र देखिने, फेरि बुढापाकाहरु विशेषगरी उपचारमा जान समस्या हुने, साथी नपाउने, खर्च अभाव कै कारणले पनि उपचार नगराउने प्रवृति बढिरहेकाले गाउँ गाउँमा पुगी उपचार सेवा प्रदान गरिरहेको पनि बताए। शिविरमा प्रेसर २ सय, सुगर ५ सय, कोलस्ट्रोल १ हजार भएको विरामी पनि भेटिएको बताउँदै उनीहरुलाई थप उपचारका लागी टेलिमेडिसिन संग परामर्शगरी उपचारमा आए थप सहजता हुने पनि उनले बताए।


के हो केएचडिसी कार्यक्रम?
सन् २००३ देखि प्राडा. सञ्जीव कुमार शर्माको नेतृत्वमा रहेको यो सामुदायिक आउटरिच कार्यक्रम हो। यो कार्यक्रमले दीर्घकालीन मृगौला रोग, उच्च रक्तचाप, मधुमेह र हृदयघातको रोकथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि काम गर्दै आएको छ। डा. शर्मा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षाध्यक्ष पनि हुन्।
जब प्रतिष्ठानमा डायलासिस सुविधाको नेतृत्व गरिरहेका बेला प्राडा. शर्माले ग्रामीण नेपालका एक युवा बिरामीलाई भेटे जसको मृगौला फेलियर थियो। बिरामीलाई अत्यावश्यक डायलासिसको आवश्यकता थियो, तर उनीसँग दैनिक जीवनयापनका लागि पैसा पनि थिएन र उनी असहाय थिए। प्राडा. शर्माको अगाडि उनले ज्यान मागे। यो घटनाले उनलाई छोयो । उनी सम्झन्छन् “मलाई त्यो दिन बेकारमा डाक्टर बनेको महशुस भयो। घटनाले मलाई निकै असहाय महशुस गराएको छ। मैले गर्न सक्ने केही थिएन। घटनापछि शर्माले आफूजस्ता हजारौं बिरामीलाई सहयोग गर्ने वाचा गरे। डायलासिस समस्याको समाधान होइन भनेर मानिसहरूलाई बुझाउन चाहेकोे उनले बताए। यो केवल एक अस्थायी उपचार हो। तर समस्याको समाधान सुरुमै जनचेतना फैलाएर वा मृगौला रोगको प्रारम्भिक चरणमा उपचार गरेर मृगौला रोगबाट मुक्त भएपछि न त डायलासिस गर्नुपर्छ न मृगौला प्रत्यारोपणको आवश्यकता पर्नेछ । यो सार बुझेर, उनले रोगको जरामा गएर यसको उपचार गर्ने निर्णय गरे र त्यही टर्निङ प्वाइन्ट थियो जसले KHDC लाई जन्म दियो।
त्यसबेलादेखि प्रा डा. शर्मा नेतृत्वको टोलीले पूर्वी नेपालको विभिन्न ठाउँहरूमा सक्रिय रूपमा यो सचेतना र उपचार KHDC अभियान चलाइरहेका छन्। प्रो. शर्मा र उनको टोलीले “ABCDE जाचौं, मृगौला बचाऔं तपाईंको “ABCDE जाँच गर्नुहोस् मृगौला बचाउनुहोस्, मुटु बचाउनुहोस्” भन्ने मनमोहक नारा लिएर कार्यक्रममा आएका थिए र प्रत्येक शनिबार र बिदाका दिनमा धरान र वरपर घर–घर गएर मुख्य रूपमा ABCDE परीक्षण गरे। अर्थात A-Albuminuria, B-Blood Pressure, C-Colesterol and Creatinine, D-diabetes, E-eGFR. यी कुराको परीक्षणले मानिसको मुटु र मृगौलाको अवस्था थाहा पाउने र रोग लाग्ने सम्भावना पनि पत्ता लगाउन सक्छ । यसरी, तिनीहरूले धेरै घरहरूमा पुग्न हरेक बिदा र अन्य खाली समयको राम्रो सदुपयोग गरे। त्यहाँ उनले मुटु र मृगौला रोगको उच्च जोखिममा रहेका व्यक्तिलाई तत्काल उपचार गर्न सल्लाह दिँदै यस्ता रोगबाट बच्न अरुलाई पनि सचेत गराए । आफैं मिर्गौला र हृदय रोग विशेषज्ञ भएकाले उनी बिरामीहरूको व्यवस्थापन पनि गर्छन्, तर अन्य स्वास्थ्य सेवा प्रदायकहरूलाई यी पक्षहरूमा शिक्षा दिनमा बढी जोड दिन्छन्। उनले स्वस्थ खानपान र स्वस्थ जीवनशैलीमा विशेष ध्यान दिन सुझाव दिएका छन्।


हालसम्म, धरान सहर र यसको वरपरका सुनसरी, मोरङ र झापा जिल्लाहरूमा १३०,००० भन्दा बढी व्यक्तिहरूमा पुगेको छ, जसले स्क्रीनिंगमा सकारात्मक परीक्षण भएकाहरूलाई परामर्श, उपचार र फलोअप प्रदान गरेको छ। कार्यक्रमले देखाएको छ कि समुदायमा आधारित स्क्रिनिङ मधुमेह, मृगौला र हृदय रोगको जोखिममा रहेका विषयहरू पहिचान गर्ने प्रभावकारी माध्यम बनेको छ। हालसम्म १ लाख ३० हजार जनालाई परीक्षण गरिसकेको जानकारी दिदै उनले तथ्यांकमा २० वर्ष माथिका २५ प्रतिशतलाई उच्च उच्च रक्तचाप भएको देखाएको बताए। यसैगरी पुर्वमा सरदरमा हेर्दा ६ देखि ८.५ प्रतिशत मधुमेह रोग छ। यस्तै मुटुको रोग २.५ प्रतिशत छ, स्ट्रोक ३ प्रतिशत छ । कोलेष्ट्रोलको मात्रा एकदम धेरै २० प्रतिशत रहेको छ।
धरानको निम्न आर्थिक अवस्था भएका बस्तीहरुमा पनि प्राडा. शर्माको मोवाइल टोली पुगेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएका छन्। प्राडा. शर्माका अनुसार निम्त आय भएका बस्तीहरुमा स्वास्थ्य जाँच गर्ने इच्छा पनि कम हुने, फुर्सद नहुने र पैसा पनि नहुने भएकोले ती क्षेत्रहरुलाई केन्द्रीत गरेर स्वास्थ्य शिविरको आयोजना गरिंदै आएको छ।(दिव्य रोशनी साप्ताहिकबाट)