धरानमा २ थान पेस्तोलसहित ३ जनालाई पक्राउ (भिडिओ सहित)

दिव्य रोशनी(धरान)/ ईलाका प्रहरी कार्यालय धरानले २ थान पेस्तोलसहित ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
आज सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै ईलाका प्रहरी कार्यालय धरानले २ थान पेस्तोल सहित तिन जनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरुमा धरान १७ डाँडा घोपाका २९ बर्षीय हुकमेन जिमी, उनका भाई पर्ने २४ बर्षीय दिपक जिमी र धरान १५ का २४ बर्षीय रोहित राई रहेका छन् । बिशेष सुचनाको आधारमा बैशाख ३१ गते राती ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुको कमाण्डमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटि समुह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १७ का हुकमेन र दिपकलाई उनको घरबाट नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए। यसैगरी अर्का रोहित राईलाई धरान १५ शहिद मार्ग स्थित उनैको घरबाट पक्राउ गरिएको बताए।


सोधपुछ गर्ने क्रममा धरान १७ का हुकमेनले २ थान पेस्तोल खरिद गरी ल्याएर १ थान भाई दिपकलाई राख्न दिएको अर्काे १ थान पेस्तोल रोहितलाई राख्न दिएको वयान दिएका थिए। हुकमान राईको वयान अनुसार प्रहरीले घरदेखि पश्चिम रहेको सर्दुखोला नजिकको झाडीमा झोलामा लुकाएर राखेको नचल्ने अवस्थामा रहेको १ थान पेस्तोल बरामद गरेको थियोभने अर्को पेस्तोल रोहितको घरकोठा खानतलासी गर्दा पलङको डस्ना मुनी लुकाई राखेको अवस्थामा म्याग्जिन सहितको मेड इन इटाली लेखेको १ थान पेस्तोल वरामद गरेको थियो । पक्राउ परेका तीनै जनालाई ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए।