बैशाख ४ गते बराह स्मृति एमेच्योर ओपन गल्फ टुर्नामेन्ट हुने

दिव्य रोशनी (धरान)/
धरान गल्फ क्लवको आयोजना तथा बराह गु्रपको प्रायोजनमा छैटौ बराह स्मृति एमेच्योर ओपन गल्फ टुर्नामेन्ट हुने भएको छ।
आज बराह किचनमा आयोजित पत्रकार सम्मेलनमा बराह स्मृति एमेच्योर ओपन गल्फ टुर्नामेन्ट यही बैशाख ४ गते धरानको गल्फ मैदानमा हुने जानकारी दिईएको छ। पत्रकार सम्मेलनमा धरान गल्फ क्लवका कोषाध्यक्ष राजु राईले प्रतियोगितामा नेपालभरीबाट ४३ जना गल्फर खेलाडीहरुको सहभागिता रहने बताए।
धरान गल्फ क्लवका पूर्व सदस्य स्व. ईन्द्र कुमार विश्वकर्मा लामिक्षानेको स्मृतिमा बराह गु्रपले वर्षेनी आयोजना गर्ने गरेको गल्फ टुर्नामेन्ट अघिल्लोवर्ष कोभिडको कारण रोकिएको थियो। बराहले धरान गल्फ क्लब संग १५ वर्षसम्म निरन्तर यस प्रतियोगिता गर्ने सम्झौता गरेको छ। सम्झौता अनुसार बराहबाट प्रायोजित कुल रकमबाट ४० प्रतिशत पुरस्कार राशीमा खर्चहुने र बाँकी ६० प्रतिशत रकमबाट खेल व्यावस्थापनमा खर्चहुने आयोजकले जनाएको छ।
कुल १ लाख ८८ हजारको लागतमा सम्पन्न हुने प्रतियोगितामा विजेता र उपविजेताहरुलाई ट्रफिका साथमा बराह गु्रप क्यास भौचर समेत प्रदान गरिने आयोजक धरान गल्फ क्लवले जनाएको छ। पत्रकार सम्मेलनमा बराह गु्रपका अध्यक्ष शिव लामिक्षाने, धरान शाखा प्रमुख मान बहादुर दियाली, सुनसरी गल्फ क्लवका अध्यक्ष डिबी राई लगायतको उपस्थिती रहेको थियो।

Leave a Reply

Your email address will not be published.