धरानको कोशेली “बुढासुब्बा ललीपप”

मनिता चाम्लिङ,

दिव्य रोशनी(धरान)/ धरान विशेषगरी धार्मीक पर्यटकिय शहर हो। धरान १४ स्थित विजयपुरमा रहेका ऐतिहासिक तथा पुरातात्विक महत्वका मन्दिरहरुमा घुम्नका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले फर्केर जाँदा धरानको कोशेली के लिएर जाने ? भन्ने अब अन्यौलता नै छैन। धरान उप–महानगरपालिकाले धरानको कोशेलीको रुपमा ब्राण्डिङ गर्न नसकिरहेको अवस्थामा धरान घुम्न आएका पर्यटकहरुका लागि विजयपुरका महिला दिदी बहिनीहरुको समुहले “बुढासुब्बा ललीपप” व्यवसायको शुभारम्भ गरेका छन्। स्थानिय १० जना महिलाहरुको समुहबाट शुरु गरिएको ललीपप व्यवसाय अहिले बिस्तार हुने क्रममा रहेको छ।
उनीहरुलाई ललीपप व्यवसाय गर्न १४ न.ं वडाले गरिबी निवारणको लागि प्रदान गरेको ७ दिने तालिमले विजयपुरका महिला दिदी बहिनीहरुलाई उद्यमी बन्न थप सघाउ त पुगेको छँदैछ त्यसमाथि पनि धरानको कोशेलीको रुपमा बुढासुब्बा ललीपपको शुभारम्भ समेत भएको छ। समूहका सदस्य गंगा बिसीले तालिममा उद्यमी बन्न सिक्नुपर्ने कुराहरु सिकेपछि दुधबाट बनिने परिकारहरु बनाउन सिकेको बताईन्। वडाले दिएको गरिबी निवारण तालिमपछि के गर्ने, कुन तालिम लिने भनेर विचार गर्दा ईलामको जस्तै धरानमा पनि ललीपप चक्लेट बनाउने सल्लाह बमोजिम तालिममा दुधबाट १० प्रकारका आईटम बनाउन सिकेका कुरा गंगाले बताईन्। तालिमका क्रममा दिदीबहिनीहरुको समूहले मंसिर २४ र २५ गते इलामको भ्रमणपनि पनि गरिसकेका छन्। भ्रमणका क्रममा दुधका परिकारबाट कस्तो चक्लेट बन्ने र बजारको अवस्था कस्तो रहने भनेर अवलोकन गरेको उनले बताईन्। ईलाममा ललीपप, मिठाई बनाएर महिलाहरु उद्यमी भए जस्तै उनीहरुबाट केही सिक्नुपर्छ भनेर महिला दिदी बहिनीहरु आफैं सक्रिय भएपछि अहिले उनीहरुपनि उद्यमी बन्न प्रयासरत छन्।
मंसिर २९ गते बुधवारबाट ललीपप बनाउन शुरु गरेको समूहले अहिले दैनिक २ केजी भन्दा बढी ललीपप चकलेट उत्पादन गर्दै आएका छन्। तालिम पश्चात् केही उद्यम व्यवसाय शुरु गरांै भनेर विजयपुरका महिला दिदी बहिनीहरुबाट ललीपप चक्लेटको व्यवसाय शुरु गरिएको समूहका अर्का सदस्य अन्जु पुलामी मगरले बताईन्। उनले तालिममा दुग्धजन्य पदार्थबाट बनिने विभिन्न आईटमको तालिम लिएपनि छुर्पीभने बनाउन प्राय असंभव देखेको बताईन्। उनका अनुसार धरानको हावापानी अनुसार छुर्पीको उत्पादनभने धरानमा त्यती सहज छैन। समूहले अहिले ललीपप चक्लेटसँंगै रसवरी, लाल मोहन, पुष्टकारी, बम्बईसन बनाउने क्रममा समेत रहेको छ। १० पीस हुने सानो ललीपप प्रति प्याकेट होलसेल ४० रुपैयाँ र खुद्रा मुल्य ५० रुपैयाँ तोकेको छभने १५० ग्रामको ठुलो ललीपप प्रति प्योकट १०० रुपैयाँ तोकिएको छ। समूहले अहिले विजयपुरका मठमन्दिरहरुमा प्रसादको रुपमा बिक्रीका लागि आफ्ना उत्पादन ललीपप चक्लेट पठाउन शुरु गरेको छ।


१० केजी दुधबाट ललीपप चक्लेट बनाउन शुरु गरेको समूहले दैनिक ११ बजेबाट शुरु गरी ४ बजेसम्म काम गर्ने गरेका छन्। घरको काम सकेर बचेको समयलाई सदुपयोग गरिएको समूहका सदस्य अञ्जु बताउँछिन्। उत्पादन मितीले २ महिनासम्म प्रयोग गर्न सकिने ललीपप भक्तजनहरुले प्रसादको रुपमा मन्दिरमा चढाउने र घर लैजाने गरेका छन्। १० जना महिलाबाट प्रतिव्यक्ति १÷१ हजार मिलाएर १० हजारबाट शुरु गरेको व्यवसाय अहिले बिवस्तारको क्रममा रहेको छ।
त्यसोत धरान १४ धार्मीक पर्यटकियक्षेत्र भएपनि यहाँका जनताभने कृषिमा आधारित रहेका छन्। सामान्य नगदेबाली लगाउँदै आएका यहाँका किसानहरु विशेषगरी पशुपालनमा आधारित रहेका छन्। प्रायः जसो घरमा गाई पाल्ने र दुध बिक्रीका गर्न धरान बजार झर्ने यहाँको किसानहरुको लागि यसै स्थानमा दुध खपत हुनेभएपछि बजार झर्नु नपर्ने र महिला उद्यमीहरुलेपनि डेरीको भन्दा राम्रो र कम मुल्यमा दुध पाईने भएपछि महिला समूहहरुपनि दुग्धजन्य पदार्थको उत्पादन गर्न तम्सिएका हुन्।
धरानको विजयपुर आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि आकर्षकको केन्द्र भएपनि विजयपुरले विशेष कोशेली दिन नसकिरहेको अवस्थामा महिला दिदीबहिनीहरुले शुरु गरेको ललीपप चक्लेट व्यवसायले धरानको कोशेलीको रुपमा पहिचान गराउने १४ नं. वडाका महिला सदस्य शोभा पुलामी मगर बताउँछिन्। फुसर्दमा घरमा नै दिन कटाएर बस्दै आएका महिला दिदीबहिनीहरुलाई वडाले उद्यमी बनाउने प्रयास गरेको समेत उनले बताईन्। महिलाहरुलाई दुधका परिकारहरु बनाउन अवलोकनका लागि ईलामसम्म पठाएको बताउँदै उनी भन्छिन् “व्यवस्थित रुपमा ठुलो भाडोमा मेशिनले नै खुवा बनाएर ललीपप बनाईने भएपनि धरानमा भने महिला दिदीबहिनीहरुले सानो पुँजीले सानो भाडोमा बिस्तारै व्यवस्थापन गर्दै आएका छन्। भविष्यमा राम्रो हुने आशा राखेका छौं।”


विजयपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरु फर्किर जाँदा धरानको कोशेलीका रुपमा ललीपप चक्लेटको उत्पादनलाई वडाले पनि विशेष प्राथमिकता दिएको १४ न.ं वडाका वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराई बताउँछन्। उनले धरानमा आउने आन्तरिक तथा बाह्य पर्यटकको लागि कोशेलीको रुपमा धरानको चिनो केही पनि नदेखिएपछि ललीपपलाई ब्राण्डिङ गर्न लागिएको बताए। उनी भन्छन् “जसरी सप्तरीको बरमझियामा राती गाडीमा निन्द्राबाट उठेर पेडा किनेर कोशेली लिएर आए जस्तै धरानमा आउने धार्मीक पर्यटकहरुका लागि ललीपप लैजाने वातावरण बनाउँदैछौं।”
अध्यक्ष भट्टराईले ललीपप उत्पादनलाई बजारीकरणका लागि भारतबाट आउने फुल मिठाईको आयातलाई बन्दगरी मन्दिरमा प्रसादको रुपमा ललीपप, पेडालाई चढाउनुपर्छ भन्ने मुख्य उद्धेश्य रहेको समेत बताए। वडाले यसअघि विगतका दुईवर्षसम्म ललीपप बनाउने र बजारीकरण गर्ने उद्धेश्यले बजेट पनि छुट्याएको थियो। तर त्यसको व्यवस्थापनमा कोही पनि अग्रसर नभएपछि वडाले बजेट रुपान्तरण गर्न बाध्य हुनुपरेको वडाअध्यक्ष भट्टराईको भनाई छ। वडाले बोलाएर कार्यक्रम गर्नु भन्दा पनि महिलाहरु आफंै जागरुक भएर गरेको काम राम्रो हुने बताउँदै अध्यक्ष भट्टराई भन्छन् “हिजो नाङ्लोमा व्यापार गर्ने, साईकलमा व्यापार गर्नेहरु आज ठुलाठुला उद्योगी व्यवसायी भएका छन्। विजयपुरका महिला दिदी बहिनीहरुले पनि आज सानो लगानीबाट व्यवसाय शुरु गरेका छन्। यसको परिणाम अहिले देखिन थालेको छ। उनीहरुपनि आत्मनिर्भर हुने बाटोमा छन्।”
सानो पुँजीबाट शुरु गरिएको व्यवसायले भोली महिलाहरुमा आत्मनिर्भर मात्र नभई सफल उद्यमी व्यवसायी बन्न सकिने उनको धारणा छ। महिलाहरुले उत्पादन शुरु गरेको ललीपप चक्लेटको बजार व्यवस्थापनमा वडा कार्यालयले पनि सघाउ पुरयाउने वडाअध्यक्ष भट्टराईले बताए। वडाबाट महिला लक्षित कार्यक्रमहरु धेरैभएपनि अझसम्म आत्म निर्भर बन्ने कोही ननिस्किएकाले अब यस कार्यक्रमबाट महिलाहरु आत्म निर्भर बन्नेमा आफुहरु आशावादी रहेको उनले बताए। महिलाहरुलाई आत्मनिर्भरसँंगै उद्यमी बनाउन बनाउन उप–महानगरपालिकाले “उप–प्रमुख उद्यमी महिला” भनेर शिर्षक नै छुट्याएको छ। सोही बमोजिम वडाका महिला दिदीबहिनीहरुले शुरु गरेको व्यवसायलाई विशेष बजेटको व्यवस्था गर्न उप–मेयर मञ्जु भण्डारीलाई अनुरोध गरिएको वडाअध्यक्ष भट्टराईले बताए। उनले महिलाहरुलाई उद्यमी बनाउन र बजार व्यवस्थापनका लागि पिण्डेश्वरबाबाधाम, बुढासुब्बा, दन्तकाली, पञ्चकन्या लगायत विजयपुर क्षेत्रमा रहेका फुलमाला व्यवसायीहरुलाई प्रसादको रुपमा मन्दिरमा ललीपप र पेडा चढाएमा मात्र मनोकामना सिद्ध हुन्छ भन्ने प्रचार÷प्रसार गरेमा ललीपप बजारको समस्या नरहने समेत बताए। “अहिले हाम्रो पालामा शुरु गरिएपछि छोरा नातीको पालामा ललीपप चक्लेट मन्दिरमा प्रसादको रुपमा चढाउनु पर्दछ भन्ने धारणा आम मानिसमा जाने छ” उनले भने।
महिला लक्षित कार्यक्रम अन्तगर्त तालिमसंँगै महिला दिदी बहिनीहरुलेपनि आफ्नो अपनत्वहोस् भन्नका लागि समुहबाट लगानी गरेकोले उनीहरुको हौसलाका लागि वडाले आगामी दिनमा विशेष बजेटको व्यवस्था गर्ने समेत अध्यक्ष भट्टराईले बताए। उनले महिला दिदी बहिनीहरुको समुहले राम्रो काम गर्दै गएमा स्थानिय सरकारदेखि प्रदेश सरकारसम्म वडाले सहयोगका लागी अपिल गर्ने समेत बताए। यसको लागि उत्पादन गृहको व्यवस्था, बजार व्यवस्थापन, उत्पादनको लेवलदेखि गुणस्तरियको लागि स्थानिय सरकारको हैसियतले वडाले सहयोग गर्ने भएको छ। उप–महानगरपालिकाले धरानलाई पर्यटनको हव बनाउने भनेपनि पर्यटनको लागि उपलब्धीमुलक कार्यक्रम नगरेकाले यस वडाका महिला दिदी बहिनीहरुको व्यवसायले धरानको एउटा नयाँ उत्पादन ब्राण्ड हुनेमा उनी ढुक्क छन्। उनी भन्छन् “१४ नं. वडाको ललीपप, बरमझियाको पेडा, १४ न.ं वडाका महिला दिदीबहिनीको समय अब जानेछैन खेर।”
वास्तवमा, १४ नं. वडाका महिला दिदीबहिनीहरु अहिले उत्पादनशील कार्यमा लागि परेका छन्। उनीलाई १४ नं. वडा कार्यालयले झै अन्य सरोकारवाला संस्थाहरु समेतले दिलोज्यान दिई लागि परेमा यो ललीपप साँच्चिकै धरानको कोशेलीको रुपमा दिगोपना दिन ठुलो सघाउ पुग्नेछभने समग्र धरानको आर्थिक उपार्जनमा समेत टेवा पुग्नेछ।(साभारः दिव्य रोशनी साप्ताहिक वर्ष १७ अंक ३१)