राष्ट्रिय भुकम्प सुरक्षा दिवसमा यति विमान दुर्घटनाका मृतकप्रति समेत श्रद्धाञ्जली व्यक्त

दिव्य रोशनी(धरान)/आज माघ २ गते २५ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस । २०४५ सालको भुकम्पले धरानमा धेरै जनधनको क्षति पुर्याएको थियो। तसर्थ भुकम्पमा परि ज्यान गुमाउनेहरुको स्मृतिमा आज साँझ राष्ट्रिय भुकम्प दिवसको अवसर पारि धरानको घण्टाघर परिसरमा निर्माण गरिएको भुकम्प स्मारकमा द्वीप प्रज्वलन गरि मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। उक्त द्वीप प्रज्वलन कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राई, उपमेयर अइन्द्रविक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल, वडाअध्यक्षहरु एवं कार्यपालिका सदस्यहरु समेतको उपस्थिती रहेको थियो।


सोहीकार्यक्रमबीच यति विमान दुर्घटनाका मृतकहरुप्रति समेत श्रद्धाञ्जली व्यक्त गरिएको थियो। मेयर साम्पाङले भुकम्प, विभिन्न दैवीप्रकोप, दुर्घटनाहरुमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विमान दुर्घटना बारे सम्बन्धित निकायले अध्ययन गरि पुराना विमानहरु विस्थापित गर्नुपर्ने बताए। साथै मेयर साम्पाङले आगामी दिनहरुमा यस्ता दुर्घटना हुन नदिन सुरक्षा उपायहरु अपनाउनुपर्ने समेत सुझाव दिए।
सेवक अभियान धरानका संयोजक राजिव हलवाईले २०४५ सालको भुकम्पमा परि ज्यान गुमाएकाहरुको स्मरणमा घण्टाघर परिसरमा भुकम्प स्मारक निर्माण गरिएको बताउँदै २०५५ सालदेखि नेपालमा राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाउन थालिएको समेत जानकारी दिए।

कार्यक्रमबीच धरान उपमहानगरपालिकाका वातावरण महाशाखा प्रमुख भेषराज घिमिरेले विभिन्न कार्यक्रम आयोजना गरि राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाउने तयारी भइरहँदा पोखरामा भएको विमान दुर्घटनामा धेरैले ज्यान गुमाएको कारण देश नै शोकमा डुबेकोले शोक बिदाका कारण अन्य कार्यक्रमहरु भने स्थगित गरिएको बताए। साथै उनले विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति पनि श्रद्धाञ्जली व्यक्त गर्दै दिप प्रज्वलन भने गरिएको बताए ।

आज २५ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा धरान उपमहानगरपालिकाले विविध कार्यक्रम आयोजना गरि मनाउने तयारी गरेको थियो। तर हिजो आइतबार पोखरामा यति एयरलाईन्सको विमान दुर्घटनामा चालक दलसहित ७२ जनाले ज्यान गुमाएको दुःखद घटनाको कारण देश नै शोकमा डुबेपछि आज सरकारले शोक बिदा दिएको थियो। तसर्थ भुकम्प सुरक्षा दिवसका अन्य कार्यक्रमहरु समेत स्थगित भएको घिमिरेले बताए।
विमान दुर्घटनामा परेकाहरुको आत्माको चीर शान्तिको लागि श्रद्धाञ्जली व्यक्त गर्दै स्वतन्त्र नागरिक समाज धरानले भानुचोकमा द्वीप प्रज्वलन कार्यक्रम समेत आयोजना गरेको थियो।

13 thoughts on “राष्ट्रिय भुकम्प सुरक्षा दिवसमा यति विमान दुर्घटनाका मृतकप्रति समेत श्रद्धाञ्जली व्यक्त

टिप्पणीहरू are closed.