गोधुली फुटबल रनिङ कपको उपाधी धरान १७ लाई (हेर्नुहोस भिडियो पनि)

दिव्य रोशनी(धरान)/ धरानमा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपको उपाधी १७ नं. वडाले जितेको छ ।
शनिवार धरान रंगशालामा भएको फाइनल खेलमा वडा नं. १५ लाई २–१ गोल अन्तरले पराजित गरेसँगै धरान १७ ले चौथो पटक गोधुली कपको उपाधी जितेको हो। खेलमा धरान १७ का साहिल राई र सौजन राईले गोल गरेका थिएभने धरान १५ नं वडाका तर्फबाट एक मात्र गोल नगेन राई गरेका थिए। उपाधीसँगै १७ नं. वडाले नगद रु १ लाख ५० हजार, ट्रफि, मेडल पुरस्कार प्राप्त गरेको छ। उपविजेता भएको १५ नं. वडाले नगद ७५ हजार, ट्रफि, मेडल पुरस्कार प्राप्त गरेको छ। विजेता तथा उपविजेता दुवै टिमलाई धरान वडा नं. १८ का वडाध्यक्ष प्रविणकुमार राई र उहाँको वुवा ध्यानबहादुर राईले नगद २५/२५ हजार पुरस्कार थप प्रदान गर्नुभएको थियो।


विधागत पुरस्कारमा पनि १७ नं. वडाको बर्चस्व रह्यो । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी १७ नं. वडाका सविन राई घोषित भए । उनलाई नगद १५ हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको उच्च गोलकर्ता धरान वडा नं. १४ का सरोज राई घोषित हुँदै नगद ७ हजार ५ सय पुरस्कार जिते । उनले प्रतियोगितामा ६ गोल गरेका थिए ।
प्रतियोगिताको बेष्ट डिफेन्स १७ नं. वडाका सौजन राई, बेष्ट गोल किपर १७ नं. वडाका सुजन राई, बेष्ट मिड फिल्डर १७ नं. वडाका सुशिल राई, बेष्ट स्ट्राइकर १७ नं. वडाका कृष्ण राई, बेष्ट कोच १७ नं. वडाका योगेन राई, राइजिङ प्लेयर १७ नं. वडाका साहिल राई घोषित भए भने फाइनल खेलको म्यान अफ द म्याच १५ नं. वडाका नगेन राई घोषित भएका थिए । उनीहरुलाई नगद ५५ सय र मेडल प्रदान गरिएको थियो ।
प्रतियोगिताका विजेता खेलाडीहरुलाई धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, उपप्रमुख अइन्द्र विक्रम वेघा, एन्फाका मानार्थ उपाध्यक्ष किशोर राई लगायतका अतिथिले पुरस्कार वितरण गर्नुभएको थियो ।
पुष ३० गतेदेखि माघ १४ गतेसम्म धरान रंगशालामा सञ्चालन भएको प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको थियो । यसैगरी प्रतियोगितामा शिर्ष आठ टिममा पर्न सफल धरान १, ५, ११, १४, १५, १६, १७ र २० ले उप–महानगरपालिकाले आयोजना गर्ने स्व. सुवास राई स्मृति सुपर ८ लिगमा सहभागिता जनाउन पाउनेछन्।