खानेपानी खोई? भन्दै रितो गाग्री लिएर धरान उप–महानगरपालिका घेराउ

दिव्य रोशनी(धरान)/
धारामा पानी नआएपछि खानेपानी खोई? भन्दै रितो गाग्री लिएर धराने जनताले उप–महानगरपालिका घेराउ गरेको छ।
दिर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितीको अगुवाईमा आज मंगलवार धरानको भानुचौकबाट निकालिएको र्यालीले उप–महानगरपालिका पुगेर घेराउ गरेको हो। र्यालीमा धराने जनताहरुले खाली गाग्री र ग्यालेन बजाउँदै पानीको माग राखेका थिए। धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै समितीका संयोजक हर्क साम्पाङले धारामा पानी नआएपछि पानीको पीडा बोकेर ज्ञापनपत्र बुझाउन उप–महानगरपालिकामा गएपनि प्रहरी लगाएर खेद्ने काम गरेको बताए। उनले २०३६ सालदेखि धराने जनतालाई खुवाउँदै आएको खानेपानी संस्थान धरान शाखालाई बोर्डमा गाभेपछि धरानमा झनै पानीको विकराल समस्या भएको बताए।


धर्ना कार्यक्रममा समितीका संयोजक साम्पाङले उप–महानगरपालिकामा बारम्बार धर्ना दिएतापनि मेयर र उपमेयर सँधै भाग्ने गरेको बताए। धर्ना कार्यक्रमलाई समितीका सदस्य तथा विभिन्न व्यक्तिहरुले अविलम्ब खानेपानी आपूर्ति सहज बनाउन माग राखेका थिए । यस्तै आईयुडिपी आयोजनाले धारा र खानेपानी वितरण गर्न १० हजारदेखि पन्ध्र हजा रुपैयाँसम्म शुल्क लिएपनि अझसम्म धारा जडान नभएकाले त्यस्ता पीडितहरु सबैलाई अविलम्ब धारा जडानगरी खानेपानी वितरण गरिनुपर्ने, धारा वितरण गर्न सम्भव नभए पैसा लिएको मितीले ब्याज सहित फिर्ता गरिनुपर्ने, धराने जनतासँंग गरिएको ११ बँुदे सम्झौताको बँुदा नं ९ अनुसार आईयुडिपी आयोजनाले भूमिगत स्रोतबाट प्रतिदिन १ करोड ५२ लाख २० हजार लिटर गुणस्तरिय खानेपानी उत्पादन गर्नुपर्ने समेत समितीका सदस्यहरुले माग राखेका थिए।
यसैगरी समितीले भूमिगत पानीको श्रोत दिर्घकालिन नहुने भएकाले सप्तकोशीबाट पानी ल्याईनुपर्ने, आईयुडिपी आयोजनाले उत्पादन गरेको वास्तविक पानीको मात्रा प्रमाणित गरिनुपर्ने, ११ बुँदे सम्झौताको बुँदा नं ५ अनुसार निर्धारण आयोगले तोके अनुसार सरकारी दरमा धारा जडान शुल्क र मासिक महशुल लगाउनुपर्ने, आयोजनाको लेखा परिक्षणगरि खर्च प्रतिवेदन सार्वजनिक गरिनुपर्ने समेत माग राखेका थिए।
धर्ना पश्चात् समितीले र्याली निकाली छाताचौक हुँदै खानेपानी महशुल कार्यालय पुगी कोण सभा समेत गरेको छभने महशुल काउण्टरमा ताला समेत लगाएका थिए।
बोर्डलाई ध्यानाकर्षणपत्रः
यसैबिच नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र धरान उप–महानगर समितीले पनि पानीको आपूर्तिलाई सहज बनाउन माग गर्दै धरान खानेपानी व्यवस्थापन बोर्डलाई ध्यानाकर्षणपत्र बुझाएको छ।


माओवादी केन्द्रका धरान उप–महानगर समिती सचिव सुदर्शन श्रेष्ठद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा धरानवासीलाई काकाकुल हुने अवस्थाबाट मुक्त गर्न नेपाल सरकार शहरी विकास मन्त्रालय मार्फत् शहरी विकास आयोजना अन्तर्गत धरान खानेपानी पुननिर्माण तथा बिस्तार परियोजना संचालन भएपनि धरान खानेपानी बोर्डले धरानवासीलाई पर्याप्त पिउने पानी उपलब्ध गर्न नसकी पानीको हाहाकार भई समस्या सृजना भएको प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
ध्यानाकर्षण पत्रमा आयोजनाको निर्माण कार्यको अवस्था र धरानवासीलाई पर्याप्त पिउने पानीको व्यवस्था गर्न जोडदार माग समेत गरेको छ।
सर्दुजलाधर जोगाउन ज्ञापनपत्रः
यसैबिच जनजागृती समाज धरान १३ सुनसरीले धरानको सर्दुजलाधरक्षेत्र अत्याधिक मात्रामा अतिक्रमण भएको बताउँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री डा.शिवमाया तुम्वाहाङ्फेलाई ज्ञापनपत्र बुझाएको छ।


समाजका अध्यक्ष विष्णु प्रसाद चौलागाईद्धारा हस्ताक्षरित सो ज्ञापनपत्र आज मंगलबार ईलाका प्रशासन कार्यालय धरान मार्फत् बुझाईएको हो। ज्ञापनपत्रमा सर्दुजलाधरको सरकारी जग्गा अतिक्रमणको चपेटामा परेकाले ३ सय ४८ बिघा जग्गा यथासिघ्र नेपाल सरकारको नाममा दर्ता गर्न विशेष अनुरोध समेत गरिएको छ।

351 thoughts on “खानेपानी खोई? भन्दै रितो गाग्री लिएर धरान उप–महानगरपालिका घेराउ

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *