“धरान डे” मा साईकल र्याली र मैत्रीपूर्ण फुटबल

दिव्य रोशनी(धरान)/ धरान उत्सव २०७८ को दोस्रो दिन बुधवार साईकल र्याली र मैत्रीपूर्ण फुटबलको आयोजना गरिएको छ।
उपमहानगरपालिका र सुनसरी साईकल संघको समन्वयमा उपमहानगरपालिका परिसरबाट सुरु भएको साईकल र्याली दुर्गा चोक, बुद्ध चौक, रत्न चौक, विपी क्याम्प गेट, शिव मार्ग, रमाईलो चौक, पुतली लाईन, भानुचौक, छाताचौक हुँदै नगरपालिकामा आएर टुंगिएको थियो। साईकल र्यालीमा धरानका राष्ट्रिय तथा साफ च्याम्पियनशिप खेलाडीहरु र उपमहानगरपालिकाका कर्मचारीहरुले सहभागिता जनाएको सुनसरी साईकल संघका अध्यक्ष राजेन्द्र लिम्बुले जानकारी दिए।
मैत्रीपूर्ण फुटबल बराबरीः
यसैगरी धरान डे को अवसरमा धरान उपमहानगरपालिकाले उद्योग वाणिज्य संघ सुनसरीसँग मैत्रीपूर्ण फुटबल खेलेको छ। धरान १६ स्थित रंगशालामा बुधबार भएको खेलमा उपमहानगरपालिकाले उद्योग वाणिज्य संघसँग २÷२ गोलको बराबरी खेलेको छ। खेलकुदको प्रवद्र्धन गर्नका लागि १२१ औं धरान स्थापना दिवसको अबसरमा उपमहानगरपालिकाले मैत्रीपूर्ण फुटबलको आयोजना गरेको हो ।


खेलमा सुरुवाती अग्रता उपमहानगरपालिकाले गरेपनि दोस्रो हाफमा अग्रता जोगाउन सकेन । खेलको १२ औं र १९ औं मिनेटमा उपमहानगरपालिका दुई खेलाडीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए भने १६ औं मिनेट र दोस्रो हाफको १७ औं मिनेटमा उद्योग वाणिज्य संघका तर्फबाट गोल भएपछि धरान डे मैत्रीपूर्ण खेल बराबरी भएको हो । मैत्रीपूर्ण फुटबल खेलमा उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु मण्डारी पनि सहभागी रहेका थिए।