महाकुम्भ मेलामा कांग्रेसले राखेको हेल्थ डेस्कमा २९ सय बढीले सेवा लिए

दिव्य रोशनी(धरान) / महाकुम्भ मेलामा आउने भक्तजनहरुका स्वास्थ्यलाई मध्यनजर गर्दै नेपाली कांग्रेस, सुनसरी १ नं. क्षेत्रीय समितिले धरानको पवित्र ऐतिहासिक धार्मिक स्थल पिण्डेश्वर बाबाधाम परिसरमा राखेको निःशुल्क हेल्थ डेस्कमा स्वास्थ्य सेवा लिनेको संख्या २९ सय नाघेको छ ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङका अनुसार गत चैत्र २७ गतेदेखि शुरु गरिएको हेल्थ डेस्कमा बैशाख १४ गतेसम्म आईपुग्दा जम्मा २९ सय ६७ जनाले स्वास्थ्य सेवा लिएका हुन्। उनका अनुसार हेल्थ डेस्कमा प्रेसर र सुगर जांच हुनका साथै आवश्यक्तानुसार ग्याष्ट्रिकको औषधी, उल्टी रोक्ने औषधी, टाउको दुखाई कम गर्ने औषधी, जीवन जल आदि औषधीहरु वितरण गर्ने गरिएको र स्वास्थ्य सम्बन्धि जनचेतानमूलक पर्चा वितरण गर्ने गरिएको तथा चोटपटक लागेमा डे«सिङको समेत व्यवस्था गरिएको छ।
स्वास्थ्य सेवा लिन आउने भक्तजनहरु अधिकांशलाई प्यानटप, आर–टिन, सिटामोल, जीवनजल, एभोमिन लगायतका औषधीहरु सेवन गर्न दिनु परेको नेपाली कांग्रेस क्षेत्रीय स्वास्थ्य विभाग प्रमुख शिखा चेम्जोङले बताईन ।
हेल्थ डेस्कमा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नेपाल परिवार नियोजन संघ सुनसरी, विजयपुर अस्पताल लगायतका स्वास्थ्यकर्मीहरुले सेवा दिने गरेको सभापति तामाङले बताए । उनका अनुसार ब्लड प्रेसरका रोगीहरु भेटिएका मध्ये ७० प्रतिशतको ब्लड प्रेसर उच्च पाइएको, कतिपयले एकपटक प्रेसरको औषधी सेवन गरेमा जीवनभर सेवन गर्नुपर्छ भनेर सेवन नगर्ने गरेको, कतिपयले भने प्रेसर जांच गराएमा हाई वा लो देखाउंछ वेकारमा टेन्सन मात्र बढ्छ भनेर जचाउने नगरेको पाइएकाले उनीहरुलाई आवश्यक सुझाव तथा काउन्सेलिङ समेत दिने गरिएको छ ।
हेल्थ डेस्कमा आई स्वास्थ्य सेवा लिने क्रममा पिण्डेश्वर महाकुम्भ मेलाको समग्र व्यवस्थापन राम्रो भएको तर पार्किङ र सरसफाईमा कमजोरी देखिएको, सडकको स्तरोन्नति नभएको, बराहक्षेत्रमा पूजा र कुम्भ स्नान गरेपछि धरानको पिण्डेश्वरमा जल चढाएर र पुजा गरेपछि मात्र पुजा प्रार्थनाले पूर्णता पाउने कुराको सूचना तथा जानकारी प्रभावकारी रुपमा नदिएको जस्ता गुनासा र प्रतिक्रियाहरु भक्तजनहरुले दिने गरेको सभापति तामाङले बताएका छन्। भक्तजनहरुले पिण्डेश्वर मन्दिरमा नेपाली कांग्रेसले प्रदान गरेको निःशुल्क स्वास्थ्य सेवा र नेवार एकता समाजले प्रदान गरेको निःशुल्क पिउने पानी सेवाको खुलेर प्रशंसा गर्ने गरेको समेत उनले बताए । उनले भक्तजनहरुले दिएका सुझाव र गुनासाहरुलाई गम्भिर रुपमा लिई कमजोरी हुन नदिनेतर्फ विशेष ध्यान दिनुपर्ने बताए ।
हेल्थ डेस्क सञ्चालनको व्यवस्थापकीय सहयोगमा नेपाली कांग्रेसको प्रदेशसभा १(१), १(२), नगर र १४ नं. वडा तथा नेपाल महिला संघको क्षेत्र, प्रदेशसभा १(१), १(२) र नगर समिति रहेका छन्। त्यसैगरी सहयोगमा पिण्डेश्वर बाबाधाम व्यवस्थापन समिति, सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स र अमर पोलिक्लिनिक रहेका छन्।