धरानका मेयर तिलक राईद्धारा बुद्ध जयन्ती र उभौलीको शुभकामना
(दिव्य रोशनी)/ धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बुद्ध जयन्ती तथा प्रकृति पुजक किराँत समुदायको महान चाड उभौली (साकेला, चासोक तङ्नाम, साकेन्वा, चासुवा, फोलस्याँदर) २०७८ को अबसरमा शुभकामना व्यक्त गरेका छन् ।
मेयर राईद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘धरान उपमहानगरपालिका विभिन्न जात, जाति, भाषाभाषी र धर्मावलम्वीहरुको बसोबास रहेको शुन्दर नगरी हो । धरानमा बसोबास गर्ने बहुल जाति, बहुल भाषी, बहुल धर्मावलम्वीहरुको आ–आफनो संस्कार संस्कृति र मौलिक पर्वहरु छन्। यही सन्दर्भमा बुद्ध जयन्ती तथा प्रकृति पुजक किराँत समुदायको महान चाड उभौली (साकेला, चासोक तङ्नाम, साकेन्वा, चासुवा, फोलस्याँदर) २०७८ को अबसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण धरानबासी आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।’
बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरु आपसी मित्रता, सद्भाव र एकताको प्रतिकका रुपमा रहेका छन् । ‘हाम्रो यो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायमा पनि महत्वपूर्ण मानिन्छ । यी दुबै पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको छ । यी चाडले आफ्नो धर्म, संस्कृति, रितिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने मैले विश्वास लिएको छु । साथै प्रकृति पुजक किरात समुदायमा घरमै बसेर स्वास्थ्य प्रोटोकल अपनाउदै आफ्नो पितृ पुजा गर्न पनि हार्दिक अपिल गर्दछु’ शुभकामना सन्देशमा भनिएको छ ।
मेयर राईले देशभर कोरोना भाईरस तिब्र गतिमा फैलिरहेको उल्लेख गर्दै धरानमा पनि कोरोना संक्रमितको संख्या बढ्दो रहेको बताएका छन् । यस महामारीबाट बच्नका लागि हालसम्म नगरबासीले संयम्ता अपनाई दिएकोमा धन्यवाद ज्ञापन गर्दै कोभिड १९ बाट बच्नका लागि स्वास्थ्य मापदण्ड अपनाउँदै लकडाउनको पालना गर्न पनि आम नगरबासीलाई अनुरोध गरेका छन्।