२४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप शुरुः उद्धघाटन खेलमा धरान विजयी

दिव्य रोशनी(धरान)/

सडन डेथमा १०–९ गोल अन्तरले युनाईटेड खर्साङलाई हराउँदै आयोजक धरान फुटबल क्लब २४ औं अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको सेमिफाईनल प्रवेश गरेको छ।
धरान १६ स्थित रंगशालामा शनिवार भएको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले युनाइटेड खर्साङ फुटबल क्लब (युकेएफसी) भारतलाई सडन डेथमा १०–९ गोलअन्तरले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको हो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुङगिएको थियो। खेलको दोस्रो हाफको १३ औं मिनेटमा धरानका लागी मिलन राईले पहिलो गोल गरेका थिएभने २८ औं मिनेटमा युनाईटेड खर्साङ भारतका तर्फबाट नयन प्रधानले १ गोल गर्दैै खेललाई बराबरीमा ल्याई पुर्याएका थिए। खेलको निर्धारित समय सकिएपछि समय अभावको कारण सिंधै खेल टाइब्रेकर हुँदै सडन डेथमा पुगेको थियो।


सडन डेथमा धरानका दोर्जे तामाङ, बिजय राई, अनिल राई, इन्सन राई, सुगम जिमी, प्रविन भुजेल ,गोल किपर सचिन श्रेष्ठ, रिबस मास्के, मिलन राईले गोल गरेका थिएभने रोमन लिम्बूको प्रहार भारतका गोल किपरले रोकेका थिए।
त्यस्तैगरी युनाईटेड खर्साङ भारतको तर्फबाट सत्यम क्षेत्री, वान्छेङ तामाङ, सिद्धान्त क्षेत्री, दिवाकर चौधरी, नयन प्रधान, राहुल बर्मन, सचिन थापा, बिरेन प्रधान, रुपक कोयाले गोल गर्न सफल भएभने प्रशान्त राई र एन्थोनि क्षेत्रीको प्रहार धरानका गोलकिपरले रोकेका थिए।
खेलको म्यान अफ द म्याच धरान फुटबल क्लबका सचिन श्रेष्ठ घोषित भए। उनले नगद १० हजार सहित मेडल, जर्सी तथा प्रमाणपत्र प्राप्त गरे। आजको दोस्रो क्वाटर फाईनल खेल एन आर टि क्लब काठमाडौ र त्रिभुवन आर्मी क्लब काठमाडौका बिच हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले जानकारी दिए।
प्रतियोगिताको विजेताले नगद १० लाखको साथमा ट्रफि प्रमाणपत्र प्राप्त गर्ने र उपविजेता टिमले नगद ५ लाख सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका महासचिव नविन राईले बताए। यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख प्राप्त गर्नेछन्भने सर्वाधिक गोलकर्ताले नगद ३५ हजार प्राप्त गर्नेछन्। त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राईकर, र उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार प्राप्त गर्नेछन्। (दिव्य रोशनी साप्ताहिकबाट)