आर्मीलाई हराउदै एनआरटी २४ औं बुढासुब्बा गोल्डकपको सेमिफाईनलमा

दिव्य रोशनी(धरान)÷धरानमा जारी २४ ओं अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको दोस्रो दिनको क्वाटरफाईनल खेलमा न्यूरोड टिम(एनआरटी) ले त्रिभुवन आर्मी क्लवलाई २–१ गोल अन्तरले हराउदै सेमिफाईनल प्रवेश गरेको छ।
धरान १६ स्थित रंगशालामा आईतवार सम्पन्न खेलमा एनआरटीले आर्मीलाई २–१ ले हराउदै सेमिफाईनल प्रवेश गरेको हो। खेलको पहिलो हाफको ४ मिनेटमा नै आर्मीका मान बहादुर आले मगरले व्यक्तिगत पहिलो गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए। तर आर्मीको अग्रता धेरैबेर टिकिरहन सकेन। खेलको १४ औं मिनेटमा नै एनआरटीका शिशिर लेखीले टिमका तर्फबाट गोल गर्दै टिमलाई १–१ को बराबरीमा ल्याईपुर्याएका थिए।
निकै नै प्रतिस्पर्धात्मक भएको खेलमा एनआरटीले दोस्रो हाफको ५९ औं मिनेटमा २–१ को अग्रता लिन सफल भएको थियो। जसमा एनआरटीका अफिज ओलावालेले गोल गर्न सफल भएका थिए। खेलमा आर्मीले थप गोल गर्ने सुनौलो अवसर पाएपनि गोल गर्न नसक्दा आर्मी पराजित हुनपुग्यो। खेलमा एनआरटिका शिशिर लेखी म्यान अफ दि म्याच घोषित भए। उनले नगद १० हजार सहित मेडल, टिसर्ट तथा प्रमाणपत्र प्राप्त गरे।


प्रतियोगिता अन्तर्गत भोली सोमवारको तेस्रो क्वाटर फाईनल खेल नेपाल पुलिस क्लब काठमाण्डौ र मोरङ फुटबल एशोसिएसनका बिच हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले जानकारी दिए।
प्रतियोगिताको विजेताले नगद १० लाखको साथमा ट्रफि प्रमाणपत्र प्राप्त गर्नेछन्भने उपविजेता टिमले नगद ५ लाख सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक धरान फुटबल क्लवका महासचिव नविन राईले बताए।