अंग्रेजी नयाँ वर्षलाई लक्षितगरी भेडेटारमा फुडफेस्टिबल हुने(भिडियो सहित)

अंग्रेजी नयाँ वर्ष सन् २०२३ लाई लक्षित गरेर पूर्वकै पर्यटकीय स्थल भेडेटारमा फुडफेस्टिबलको आयोजना गरिने भएको छ ।
शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै होटेल एसोसिएसन भेडेटारले यही पुष १५ गतेदेखि १७ गतेसम्म तीनदिने फुडफेस्टिबलको आयोजना गर्न लागेको जानकारी दिएको हो । एशोसिएसनले हरेक वर्ष आयोजना गर्दै आएको फुडफेस्टिबलको यो एघारौं संस्करण हो। पत्रकार सम्मेलनमा एशोसिएसनका अध्यक्ष तुमराज लिम्बुले पूर्वकै चर्चित पर्यटकिय स्थल भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गराउन हरेक वर्ष अंग्रेजी नयाँ वर्षको अवसर पारेर फुड फेस्टिबलको आयोजना गर्दै आएको बताए। उनले फुड फेस्टिबलमा स्थानीय जातिय खानाका परिकार, स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु उत्पादनहरु पनि प्रदर्शनीमा राखिने बताए।


यसैगरी पत्रकार सम्मेलनमा बोल्दै साँगुरीगढी गाउँपालिका अध्यक्ष तथा एशोसिएसनका निवर्तमान अध्यक्ष जितेन्द्र रुम्दालीले कोरोनापछिको आर्थिक मन्दीलाई चलायमान गराउन फुडफेस्टिबलले सहयोग पुग्ने बताए। उनले फुडफेस्टिबलमा गाउँपालिकाले पनि कृषि मेलाको प्रदर्शनीसमेत गर्ने जानकारी दिदै उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गरिने समेत बताए। त्यस्तै एशोसिएसनका पूर्व अध्यक्ष लिलाराज लावतीले फेस्टिबलले भोडेर आसपासका ओझेलमा परेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक परम्परागत तथा पर्यटकीय स्थलहरूको प्रचार प्रसार हुने बताउदै भेडेटारको समुन्नत विकासको लागी राज्यको ध्यानाकषर्ण हुने समेत जनाए।
पत्रकार सम्मेलनमा एशोसिएसनका सचिव रमेश श्रेष्ठले भेडेटार घुम्न आउने आगन्तुकहरुले फेस्टिबलमा स्थानीय जातीय खानेकुराहरूको स्वाद लिन, हेर्न र बुझ्न पाउने बताउदै विशेष छुटमा पाराग्लाइडिङ, माउन्टेन बाइक र टुर प्याकेजको व्यवस्था गरिएको बताए। उनका अनुसार फेस्टिबलमा ३० हजार आन्तरिक तथा बाह्य पर्यटक आउने र १ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ। फेस्टिबलमा हरेक दिन राष्ट्रिय र स्थानीयस्तरका कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति समेत रहनेछभने फेस्टिबल अवधिभर भेडेटारका होटेलमा खानामा १० प्रतिशत र बस्न १५ प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
फेस्टिबलमा ३० भन्दा बढी स्टल रहनेछन्। फेस्टिबल अवधिभर हुने पार्किङ समस्यालाई समाधान गर्न भेडेटार बजार क्षेत्रका विभिन्न क्षेत्रमा अस्थायी पार्किङ क्षेत्र निर्माण गरिने आयोजकले जनाएको छ। फेस्टिबलमा आउने पर्यटकहरुले साँगुरीगढी गाउँपालिकाभित्र रहेको शैलुङडाँडा, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, पिकनिक स्पट, आत्मा बस्ने घर थुम्की, सुर्योदय बौद्ध पार्क थुम्की, नमस्ते झर्ना, साँगुरीगढी, नाम्जे गाँउ होम स्टे, ओख्रे भ्यू टावर, ध्वजेडाँडा, अजंगको वरको रूख, थाउजन बिग बुद्ध, स्काई वाक, जिपलाईन, रिडी नाम्जे ईको रिसोर्ट लगायतका ठाउँहरु अवलोकन गर्न सक्ने आयोजकले जनाएको छ।
होटल एशोसिएसन भेडेटारको आयोजनामा हुने फेस्टिबलको सहआयोजकमा नेस्ट भेडेटार र भेडेटार आमा समूह रहेका छनेभने सहयोगीमा साँगुरीगढी गाउँपालिका, प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड र बैंकिङ पार्टनरमा गोर्खा फाइनान्स र नबिल बैंक रहेका छन्। त्यस्तै फेस्टिबलको मुख्य प्रायोजकमा गोर्खा बु्रअरी र सह–प्रायोजकमा द नेपाल डिष्टिलरी प्रा.ली रहेको छ।(दिव्य रोशनी साप्ताहिकबाट)