शनि मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने

दिव्य रोशनी(धरान)/
धरानको चारकोशे जंगलमा सवारी दुर्घटनामा परि मृत्यु भएकाहरुको आत्माको चिरशान्तिका लागी शनि मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ।
श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मुल आयोजक समितीले बिहिवार पत्रकार सम्मेलनको आयोजना गर्दै यही फागुन २८ गते देखी चैत्र ४ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने समितीका संयोजक पितरुमल अग्रवालले बताए। उनले महायज्ञबाट संकलित रकमले शनि मन्दिरको सौन्दर्यीकरण गर्दै धरान भित्रिने पर्यटकहरूका लागि विश्राम गर्ने उपयुक्त स्थल बनाउने योजना रहेको बताए।
धरान प्रवेश गर्दा र बाहिर निस्कँदा दुर्घटनाको दृष्टिले संवेदनशील मानिएको चारकोशे जंगल पछिल्लो समय संवेदनशील क्षेत्र मानिँदै आएको छ। उक्त स्थलमा विश्वकर्मा मन्दिर र शनि मन्दिर स्थापना भएपछि सवारी दुर्घटनामा कमी आएको शनि मन्दिरका अध्यक्ष राजकुमार निरौलाले बताए। उनले विगतमा भएका दुर्घटनामा अकालमै मृत्यु वरण गर्न पुगेका मृतक आत्माहरूको चिरशान्तिको कामना तथा अझै पनि जोखिम उत्पन्न गराउने प्रेतात्माहरूको मुक्तिका लागि महायज्ञ कोशेढुंगा सावित हुने बताए।
उनका अनुसार शान्ति तथा संकट मोचनका लागि शनि मन्दिर परिसरमा ३२ लाख रुपैयाँ भन्दा बढीको लगानीमा संकटा भगवती र नवग्रह मन्दिर निर्माण गरी मूर्ति प्राण प्रतिष्ठा गरी सकिएको छ। यसैगरी मिडिया संयोजक कोपिला गौतम (भट्टराई) ले महायज्ञबाट शान्तिका साथै यात्रीको कल्याण र संकलित रकमबाट पर्यटनको प्रवद्र्धन हुने बताईन्।
त्यस्तै शान्ति शोभा कलश यात्राका संयोजक दुर्गा काफ्लेले महायज्ञ प्रारम्भ हुनु पहिलो दिन फागुन २८ गते सोमबार कलश यात्राले धरान बजार परिक्रमा गरिने बताइन्। सप्ताहव्यापी पुराण पाठ, प्रवचन नयाँ वृन्दावन गौशालाका पिठाधिश दिनबन्धु शास्त्रीले गर्ने भएका छन्। (दिव्य रोशनी साप्ताहिकबाट)