धरानमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

दिव्य रोशनी (धरान)/
“महिलामा लगानीःसभ्यता र समुन्नत समाजको थालनी” भन्ने नाराका साथ धरानमा ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईएको छ।
शुक्रवार धरानको पूर्वी स्टार होटलमा सम्पन्न कार्यक्रममा मेयर हर्कराज साम्पाङ राईले राजनीतिक क्षेत्रमा महिला पछाडी परेको बताउँदै उनीहरू उपमेयर मात्र नभई मेयर बन्ने प्रतिस्पर्धामा अघि बढ्नु पर्ने बताए । मेयर साम्पाङले महिलाहरु इमान्दार र जिम्मेवारी हुने र भ्रष्टचारमा पनि कमी आउने भएकाले नेतृत्वमा अघि आउनुपर्ने बताए। उनले भने “धरानमा मेयर र उपमेयर दुवै पुरुष छन्, एक जना महिला भएको भए सन्तुलन मिल्ने थियो कि?”
सोहीक्रममा मेयर साम्पाङले महिलाहरुमा त्याग र समपर्ण भएकाले राज्य संचालनमा पनि महत्वपूर्ण योगदान गर्न सक्ने विचार राखे। उनले ओशो पार्कमा महिला दिदीबहिनीहरुले ३० लाख बढीको लागतमा रोज गार्डेन बनाईदिएको बताउँदै महिलाले आँटेमा असम्भव भन्ने कुरै नभएको बताए।
यसैगरी उपमेयर अइन्द्र विक्रम बेघाले श्रमिक महिला दिवसमा विश्वका महिलाहरूले गरेको आन्दोलनको चर्चा मात्र गरेर नपुग्ने बताउँदै नेपालमा महिला अधिकार स्थापित गर्न जनयुद्ध, जन आन्दोलनको पनि अहम् भुमिका रहेको बताए। त्यस्तै वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक एवं ओसिएमसी प्रमुख डा. विकास साहले हिंसा पीडित महिलाहरुलाई प्रतिष्ठानले निःशुल्क स्वास्थ्योपचार तथा मनोरामर्शको व्यवस्था गरेको समेत जानकारी दिए।
धरान उपमहानगरपालिकाको आयोजना तथा महिला सञ्जाल धरानको संयोजनमा भएको सो कार्यक्रममा पीडितहरुलाई कानुनी उपचारमा परामर्श दिंदै सम्बन्धित निकायसम्म पुगेर पीडितहरुलाई न्याय दिलाउन भुमिका खेलेको भन्दै संजालका पूर्व अध्यक्ष मीना पुलामीलाई कदर पत्रद्धारा सम्मान गरिएको थियो।


त्यसैगरी विपन्न परिवारका महिलाहरुको लागि निःशुल्क स्वास्थ्य उपचारको पहल गर्दै आएकोले संजालका पूर्व अध्यक्ष शिला बज्रचार्यलाई “साथी अवार्ड” द्धारा सम्मान गरिएको थियो। सम्मानितहरुलाई प्रमुख अतिथी मेयर साम्पाङ, धरानकी प्रमुख प्रशासकीय अधिकृत प्रज्ञा देवी निरौला लगायतले कदरपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए। हरेक वर्ष अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा संजालले महिलाहरुको क्षेत्रमा योगदान पुराउने महिलाहरु लाई छनौट गरेर सम्मान गर्दै आएको छ।
यसैगरी कार्यक्रमका सभापति तथा संजालका नगर अध्यक्ष सपना राईले महिला अधिकार प्राप्तिका लागि अबका दिनमा महिलाहरू नै सङ्गठित भएर अघि बढ्नु पर्ने बताईन्। उनले महिलाको अधिकार महिलाकै संघर्षबाट मात्र प्राप्त हुने समेत बताइन्। कार्यक्रममा सम्मानित अग्रज महिला नेतृ मिना पुलामी, शिला बज्रचार्य, इलाका प्रहरीका डिएसपी नवराज मल्ल, उपमहानगरपालिकाकी प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौला लगायतले आफ्ना धारणा राखेका थिए।
यस्तै कार्यक्रममा “वर्तमान अवस्थामा महिलाको अवस्था तथा चुनौती र समाधानका उपाय” विषयमा वक्ततृत्वकला प्रतियोगिताको समेत आयोजना गरिएको थियो। जसमा वडा ६ की अनुषा शर्मा प्रथम भईन्। उनले नगद १० हजार सहित प्रमाणपत्र प्राप्त गरिन्। यस्तै प्रतियोगितामा धरान १४ की विभुति कटुवाल दोस्रो भइन्भने धरान वडा न.ं १६ की अनुष्का राई तेस्रो र धरान १७ न.ं वडाकी सबिता पुरी सान्त्वना घोषित भईन्। प्रतियोगितामा दोस्रो, तेस्रो र सान्त्वना हुनेहरुले क्रमशः ८ हजार, ५ हजार र ३ हजार सहित प्रमाणपत्र पाएका थिए। वक्ततृत्वकला प्रतियोगिताको निर्णायक मण्डलमा डा.सुभाषचन्द्र न्यौपाने, डा.अस्मिता विष्ट र अग्रज पत्रकार हर्ष सुब्बा रहेका थिए।
सञ्जालकी उपाध्यक्ष निर्मला शाक्यको स्वागत मन्तव्य रहेको सोे कार्यक्रमलाई संजालकी सचिव इन्द्रकला राईले संचालन गरेकी थिइन्। (दिव्य रोशनी साप्ताहिक २०८० फागुन २७ गते प्रकाशित)