अग्रज साहित्यकारहरू सम्मानित

दिव्य रोशनी(धरान)/ लामो समयदेखि नेपाली साहित्यमा लागीपरेका अग्रज साहित्यकारहरूलाई साहित्य अनुसन्धान परिषद् धरानले सम्मान गरेको छ।
शनिवार धरान १८ स्थित विमल स्मृति पुस्तकालयमा एक कार्यक्रमको आयोजना गर्दै परिषद्ले धरानका अग्रज साहित्यकारहरुलाई सम्मान गरेको हो। सम्मानित हुनेहरुमा श्रेष्ठ परिक्रमा, केशव सुनाम, श्री सुब्बा, अम्बिका शाक्य, सिद्धि कर्ण शाक्य, बम देवान, डाक्टर बद्री विशाल पोख्रेल, गिरीराज आचार्य, हरेराम कर्माचार्य र पूर्ण बहादुर गुरुङ रहेका छन्। सम्मान कार्यक्रममा प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका अध्यक्ष चेतनाथ धमला रहेका थिए। उनले हरेक वर्ष झैं यस वर्षपनि साहित्य अनुसन्धान परिषद् धरानले अग्रज साहित्यकारहरूको सम्मान गरेकोमा आफुलाई खुसी लागेको बताउदै अग्रज साहित्यकारहरूको सुस्वास्थ्य र दीर्घायुको कामना समेत गरे।
त्यसैगरी कार्यक्रमका विशेष अतिथी प्रा. खेमराज दाहालले साहित्यप्रति अनुराग राख्नेहरुलाई यस्तो राम्रो पुस्तकालय खोलेर ठूलो योगदान गर्नु भएकोमा पूर्ण बहादुर गुरुङ प्रति आभार प्रकट गरे। कार्यक्रममा हेन्सेन याख्खा, भवानी चुडाल “प्यासी” पेमा लामा, अरुणा पोख्रेल, राधिका कार्की, कविराज शंकर लगायतले कविता वाचन गरेका थिएभने रेडियो नेपालमा लोक गायनबाट स्थापित तथा नाटकमा दुर्गाको अभिनयमा बेजोड प्रस्तुति दिने अम्बिका दवाडीले “जिन्दगी बलेको दियो, निभ्दा निभ्दै हातैमा सिद्धियो” बोलको गीत गाएकी थिईन्। यसैगरी प्रबोध साप्ताहिककी सम्पादक जमुना श्रेष्ठले दिवंगत आफ्ना पतिद्वारा लिखित “मुक्ति” कथा संग्रहको एउटा कथा वाचन गरेकी थिईन्।
कार्यक्रममा बुद्धिजीवी पद्यमा खनाल, पुष्कर ढुंगाना ,अभिनव पौडेल, प्रा खेमराज खनाल र नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई लगायत धरानका साहित्य अनुरागीहरुको समेत उपस्थिती रहेको थियो। (दिव्य रोशनी साप्ताहिकबाट)