कलरब धरानद्वारा पोयट्री पार्टीको आयोजना

दिव्य रोशनी(धरान)/ कलरब धरानले विष्णु मेमोरियल स्कूलमा पोयट्री पार्टीको आयोजना गरेको छ।
कलरब धरानद्धारा हरेक महिनाको अन्तिम शनिबार आयोजना गरिने यो महिनाको पोयट्री पार्टी विष्णु मेमोरियल स्कुलमा आयोजना गरिएको हो। बडो उत्साहजनक सहभागिता रहेको पोयट्री पार्टीमा कवि तथा साहित्यकार लगायत ४० जना सहभागी रहेका थिए।
पोयट्री पार्टीमा देवान किराँती, विशाल भट्टराई, श्रेष्ठ परिक्रमा, किरण सिवा, हेन्सेन् याख्खा, जनकऋषि राई, विरेन सुब्बा, भवानी चुडाल’ प्यासी’, राजीव आचार्य, तीर्थ विश्वकर्मा, हिक्मत खड्का, नवराज मैनाली, समीक्षा छिलिङ राई रोम ढुंगेल र सुगात स्यायाङबोले कविता, गजल वाचन गरेका थिए। यसैगरी विष्णु मेमोरियल स्कुलका लक्ष्मी राई, प्रज्ञा दाहाल ,सिम्रन राई, प्रसिद्दी भट्टराई र सार्थक निरौला लगायतका छात्रछात्राहरुले आ–आफ्ना कविता वाचन गरेका थिए।
कार्यक्रमको अन्त्यमा कविता विधाका शोधकर्ता डाक्टर तुलसी प्रसाद भट्टराईले संसारमा लेखिएका साहित्य मध्ये सबैभन्दा बढी लेखिने साहित्य भनेकै कविता रहेको बताए। उनले जतिनै राम्रो कविता लेखे पनि वाचन शैली राम्रो नभए सुन्नेलाई पनि मजा नआउने बताए। उनले कविता भनेको आफ्नो जीवनमा घटेका घटना, कुनै धोखा, विसंगति आदि कुरालाई जस्ताको तस्तै भाव प्रकट गर्नु नै साहित्य रहेको बताए। अबको पोयट्री पार्टी चैतको अन्तिम शनिबार आयोजना हुनेछ। ( दिव्य रोशनी साप्ताहिकबाट)