सुवास राई स्मृती सुपर–८ लिगः धरान १३ को फराकिलो जित

दिव्य रोशनी(धरान)/ सुवास राई स्मृति सुपर ८ लिगकम नकआउट अन्तर्गत शनिवार भएको खेलमा धरान १३ विजयी बनेको छ।
हाम्रो धरान भेट्रान फुटवल क्लबको आयोजनामा आज शनिवार धरान रंगशालामा भएको खेलमा धरान १३ ले ५ नं वडालाई २ का विरुद्ध ८ गोल गर्दै विजयी बनेको हो। खेलमा धरान १३ का लागी सुशान्त लोरोहाङले दुई गोल गरेका थिए। उनले खेलको ६५ औं र ८१ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै धरान १३ का तर्फबाट हृदय बुढामगर, अविनास राई, निशान श्रेष्ठ,मिलन लिम्बु, निकोलश राई र सुमन माझीले १/१ गोल गरेका थिए।
यसैगरी धरान ५ का लागी आङछोहाङ लिम्बु र तिल बिक्रम लावतीले १/१ गोल फर्काएका थिए। खेलमा धरान ५ का आमन्त्रित खेलाडी सुबोध साहीले रेड कार्ड पाएका थिए। उनले रेफ्रिमाथि अपशब्द गाली गरेपछि रेफ्रि संजय लिम्बुले रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए। खेलको म्यान अफ दि म्याच धरान १३ का दोर्जे तामाङ घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे।


लिग तालिकामा तिन खेल खेलेको धरान १३ नं वडा ९ अंकका साथ लिगको शिर्ष स्थानमा रहेको छ। यसैगरी दुईखेल खेलेको ११ नं वडा र १७ नं वडाको ४/४ अंक रहेको छभने धरान १४ नं वडाको ३ अंक छ। त्यस्तै ३ खेलबाट धरान ५ नं वडाको ३ अंक छ। यसैगरी २ खेलबाट धरान ६ र १८ नं वडाको १/१ अंक रहेको छ। त्यस्तै दुई खेल खेलेको धरान ८ अंक विहिन छ। प्रतियोगिता अन्तर्गत भोली आईतवार धरान ६ का विरुद्ध धरान १८ नं वडाका बिच दिनको २ बजे खेल हुने म्याच कमिस्नर ईन्द्र थापा मगरले बताए।
सुवास राई स्मृती सुपर–८ लिग कम नकआउट प्रतियोगितामा गोधुली रनिङ कप प्रतियोगीताका उत्कृष्ट ८ टीमहरुको सहभागीता रहेको छ। लीगको ग्रुप “ए” मा धरानको वडा नं १४, ८, ५ र १३ रहेको छभने ग्रुप “बि” मा वडा नं ११, १७, ६ र १८ रहेको छ । प्रतियोगिताका बिजेताले ट्रफि सहित नगद २ लाख ५ सय ५५ रुपैया र उपबिजेताले १ लाख ५ सय ५५ रुपैया सहित ट्रफी प्राप्त गर्नेछ । यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याचले नगद २ हजार सहित मेडल प्राप्त गर्नेछन्भने फाईनल खेलको म्यान अफ द म्याचले नगद ३ हजारका साथमा मेडल प्राप्त गर्नेछन्। त्यस्तै ईण्डिभिजुअल पुरस्कार तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर , सर्वाधिक गोलकर्ता र उत्कृष्ट कोचले जनही नगद ५ हजार ५ सय सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् भने प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद ७ हजार ५ सय सहित मेडल र ट्रफी प्राप्त गर्ने क्लवका अध्यक्ष अशोक राईले बताए।