धरानमा सामाजिक सद्भाव कायम राख्न सर्वदलीय एवं सर्वपक्षीय सद्भाव र्याली निकालियो

(दिव्य रोशनी)/ धरानको धार्मिक एवं सामाजिक सद्भाव कायम राख्न सर्वदलीय एवं सर्वपक्षीय सद्भाव र्याली निकालिएको छ ।
नागरिक अगुवा, पुर्वजनप्रतिनिधि एवं राजनीतिक दलहरुको सहभागितामा शुक्रवार धरान १ स्थित छाता चौकबाट निकालिएको सर्वदलीय एवं सर्वपक्षीय सद्भाव र्याली भानुचोकमा पुगेर काणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै धरान उप–महानगरपालिकाका उपमेयर अईन्द्र बिक्रम बेघाले धरान बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक सहर भएको बताउदै अहिले जातीय, धार्मिक, साँस्कृतिक सद्भाव खल्बलाउन केही तत्वहरु लागी परेकाले त्यसको खबरदारीका लागी सर्वदलीय एवं सर्वपक्षीय सद्भाव र्याली निकालिएको बताए । उनले धरानमा सबै जातजातीहरु मिलेर बसेको बताउदै कसैले सद्भाव भडकाउन खोजेमा सबै एक भएर अघि बढ्ने समेत बताए।
यसैगरी पुर्वमेयर कुमारबहादुर कार्कीले धार्मिक पक्ष र साँस्कृतिक पक्ष भनिने बीचमा भ्रम सृर्जना गर्न खोजिएकाले त्यसलाई परास्त गर्न धरानबासीहरु एकजुट भएको बताए । उनले धरानमा बाहिरबाट आएर कुनै प्रकारको खेल खेल्न चाहन्छ भने त्यस्तो विचार त्याग्न आग्रह समेत गरे। त्यस्तै जनता समाजवादीका नगर अध्यक्ष ताजुव लिम्बुले स्थानिय सरकारको बेवास्ताले धरानमा अप्रिय घटना हुन लागेको बताए।


सर्वदलीय एवं सर्वपक्षीय सद्भाव र्याली पश्चात धरानका राजनीतिक दलहरुले सर्वदलीय निर्णय जारी गर्दै संवादबाट समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। संयुक्त वक्तव्यमा धरानमा देखा परेको धार्मिक, सांस्कृतिक विवादका विषयहरूलाई सर्वपक्षीय सर्वदलीय वार्ता संवादको माध्यमद्वारा समाधान गर्न प्रतिबद्ध रहेको जनाएको छ।
वक्तब्यमा भनिएको छ “केही दिनदेखि धरानमा देखिएको असहज परिस्थितिले धरानवासी बिच रही आएको सद्भाव, सहिष्णुता वातावरण बिथोलिने आशंका उत्पन्न भएकोले सम्पूर्ण धरानेलाई चिन्तित बनाएको छ । बहुलतायुक्त विशेषतालाई आत्मसात गर्दै सबै जाति, धर्म समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गरी सामाजिक द्वेष बढाउने, आस्था भावनामा ठेस पुराउने गतिविधि नगर्न आग्रह गर्दछौं।”
वक्तव्यमा नेकपा एमाले नगर अध्यक्ष हर्कजंग एभेङ, नेपाली कांग्रेस धरान सभापति श्याम पोख्रेल, नेकपा माओबादी केन्द्र धरान अध्यक्ष सूर्यबहादुर भट्टराई, जसपा नेपाल धरान अध्यक्ष ताजुब लिम्बुले हस्ताक्षर । साथै रास्वपा धरान संयोजक राजेशमान श्रेष्ठ, नेकपा एस अध्यक्ष रेवतीरमण राई, नेससपा प्रदेश इन्चार्ज दिनेश राई हाङछा, संयुक्त लोकतान्त्रिक लिम्बुवान पार्टीका इन्चार्ज भूपेन्द्र सुन्दर लावती, नागरिक उन्मुक्ति पार्टी एकीकृतका उपाध्यक्ष पदम खेवाहाङ, राप्रपा धरानका सचिव तिलक मगर, किखसपा केन्द्रीय अध्यक्ष भूपी कोयी, विवेकशील साझा पाटीका केन्द्रीय सदस्य सुदनकुमार श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रीय उपमहासचिव विष्णु थाम्देनले वक्तव्यमा हस्ताक्षर गरेका छन्।