सामाजिक सद्भाव कायम गरौं

लाहुरेको शहर धरान, विकासको मोडलमा सबै स्थानिय तहलाई पाठ पढाएको धरान, साथै श्रम संस्कृतिमा अग्रणी भूमिकामा रहँदै आएको धरान सँधै चर्चामा रहने गर्दछ। पछिल्लो समयमा डेंगु महामारीले थलिएर नेपालमै चर्चा कमाईरहेको धरान अहिले सामाजिक, धार्मीक र जातीय सद्धभावको पर्खाईमा छ। हरेक घरका २ देखी ६ जनासम्म डेंगुले सिकिस्त भईरहेको बेला अहिले धरानमा सामाजिक, धार्मीक र जातीय सद्धभाव भड्कन लागेको आभाष हुन थालेको छ।
केही समय पहिले धरान १४ स्थित गोपाल मन्दिर नजिकै बनाईएको ईसाईहरुको चर्चको कारण विवादित बन्दै आएको धरान अहिले गोरु काटेर खुल्लारुपमा भोजको आयोजना गरेको भन्दै चर्चामा छ। यसअघि सुखद चर्चा कमाउँदै आएको धरान यतीखेर धार्मीक, सामाजिक र जातीय सद्धभाव कायम गर्न नसकरे दुःखद चर्चा कमाएको छ। हिन्दुवादी संघ–संस्थाहरुले हिन्दुहरुको अपमान भएकोले धरानमा र्यालीको आयोजना गर्ने र पहिचानवादीहरुले त्यसको प्रतिकार गर्ने शंकै शंकाले धरानमा जिल्ला प्रशासन कार्यालय सुनसरीले शनिवार २४ घण्टे निषेधाज्ञा नै जारी गर्नुपरेको छ।
वास्तवमा, धरान अहिलेपनि शान्त छ। तर बाहिरबाट धरानलाई हेर्दा यहाँ के–के न भयो भन्ने जनमानसमा भ्रम छ। यसअघि धरानमा विभिन्न जातजातीहरुका धार्मीक कार्यक्रमहरु (लिम्बुको चासोक तङ्नाम, राईको साकेला, मगरको सारल्हेस, गुरुङ, तामाङको ल्होसार, ईसाईहरुको ख्रिष्टमस, बौद्धहरुको बुद्ध पूर्णिमा, हिन्दुहरुको तिज, दशैं र मुस्लिमहरुको ईद) सफल रुपमा आयोजना भईरहेका छन्। जहाँ एक अर्काले जुनसुकै धार्मीक कार्यक्रममा पनि हातमा हात र काँधमा काँध मिलाएर एक अर्कामा शुभकामना साटिरहेका छन्। तर बाहिरी दुनियाँबाट अहिले धरानलाई नकरात्मक दृष्टिकोणबाट हेर्न थालिएको छ। यहाँ सामाजिक रुपमा एक खालको सद्भाव विथोलिने अवस्था आएको छभने धार्मिक आस्था र जातीय संस्कृतिसँग जोडिएका दुवै पक्षलाई बिथोल्न केही तत्वहरु लागी परेको आभास भईरहेको छ।
धर्म, संस्कृति र संस्कारसँग जोडिएका कुराहरुमा अब धरानवासीहरु सचेत हुनुपर्ने अवस्था आएको छभने अतिवादी धारणालाई छाड््दै सामाजिक सद्भाव कायम राख्नुपर्छ। नत्र यसले ठूलो दुर्घटना निम्त्याउन सक्छ । शनिवार हुनसक्ने भिडन्त अहिले टरेको छ। जसमा धरानका मेयर÷उपमेयर लगायत राजनैतिक दलहरुले वक्तव्य नै जारी गरी धरानमा सद्भावको पहलकदमी लिइदिन सबै पक्षसँग अपिल समेत गरेका थिए र आगामी दिनहरुमा पनि हुनसक्ने संभावित खतरालाई टार्न यसरी नै सबैले संयमित र संवेदनशील भएर लाग्नुपर्ने अवस्था आएको छ।त्यसैले धरानको समस्यामा धरानबासीलाई बाहिरकाले हस्तक्षेप गर्नुभन्दा धरानवासीलाई नै छाडिदिने होभने हिजोको धार्मिक सहिष्णुता बोकेको धरान फेरि पुरानै अवस्थामा फर्किन कुनै बेर लाग्दैन।(साभारःदिव्य रोशनी साप्ताहिक)

One thought on “सामाजिक सद्भाव कायम गरौं

टिप्पणीहरू are closed.