डेंगु नियन्त्रणमा मेयर र राजनीतक दल बिच खोई समन्वय?

धरानमा डेंगुको महामारी अझै पनि नियन्त्रणमा आउन सकेको छैन। हरेक दिन डेंगुका बिरामीहरु थपिने क्रम जारी छ। डेंगुको चपेटामा परेको धरानमा अहिले स्वास्थ्य संस्थाहरुमा उत्तिकै भिड देख्न सकिन्छ। डेंगुका बिरामीहरुको अत्याधिक चाप भएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना अस्पताललाई डेंगु बिरामीका लागी अस्पतालको रुपमा संचालनमा ल्याईएको छ। तथापी डेंगु अस्पतालमा पनि स्थान अभाव भएपछि उपमहानगरपालिकाले पनि धरान स्वास्थ्य केन्द्र र साभागृहमा डेंगु शिविर नै चलाएको छभने धरान १३, १४ र १५ न.ं वडाहरुलेपनि निःशुल्क स्वास्थ्य शिविर नै चलाएका छन्। त्यस्तै धरानको प्रंतिष्ठित व्यापारीहरु संस्था सुनसरी उद्योग वाणिज्य संघ सुनसरीले पनि निःशुल्क रुपमा डेंगुको उपचार गर्दै आएको छ।
डेंगुको महामारी बढ्दै गएपछि उप–महानगरपालिकामा स्वास्थ्य शिविरसंगै डेगु लार्भा सर्च एण्ड डेष्ट्रोई अभियान पनि संचालन गरिरहेको छ। तर आश्चर्य लाग्दो कुरा के छभने दिनहुँजसो “डेगु लार्भा खोज र नष्ट गर” अभियान संचालन गरिरहेपनि डेंगुका बिरामीहरुको संख्यामा कमी आएको देखिदैन। यो झन् दैनिक रुपमा बढ्दो अवस्थामा रहेको छ। डेंगुका बिरामीको संख्या नघटेपछि उपमहानगरले धरानका राजनीतिक दलहरुले नसघाएको आरोप लगाउन थालेको छभने राजनीतिक दलहरुले मेयर हर्ककराज साम्पाङले राजनीतिक दलहरुसंग समन्वय नगरेको बताएका छन्। यसैक्रममा शनिवार मात्रै धरानका ६ राजनीतिक दलहरुले प्रदेश १ मुख्यमन्त्रीको ध्यानाकर्षण समेत गराएका छन्। उनीहरुले धरानमा फैलिदै गएको डेंगु महामारीलाई नियन्त्रण गर्न प्रदेश सरकार केन्द्र सरकारको भूमिका शुन्य भएको बताउँदै स्थानिय सरकारले पनि राजनीतिक दलहरुसंग समन्वय नगरेको आरोप लगाएका छन्।
वास्तवमा, धरानमा फैलिदै गएको डेंगु महामारीलाई रोक्न धरानका जनप्रतिनिधी, राजनीतिक दल तथा यहाँका विभिन्न सामाजिक संघ–संस्थाहरु बिच एकता हुन अनिवार्य देखिन्छ। अन्य बेला पार्टी मिलेन, विचार मिलेन भनेपनि यस्तो महामारीका बेला सबैमा एकता हुन आवश्यक देखिन्छ। एकले अर्काको खुट्टा तान्ने प्रवृतिलाई सदाको लागी अन्त्य गर्दै धरानलाई डेंगु महामारीबाट बचाउनु सबैको पहिलो आवश्यक्ता बनेको छ। “आफ्नै घरभित्र लडाई रहे बाहिरबाट शान्ति आउदैन” भने झैं आफै लडाई झगडा गरिरहने, एकले अर्कालाई सिध्याउने जस्तो मात्र खेल खेलेमा डेंगु महामारी नियन्त्रण गर्न भगवान भरोसा छोड्नुपर्ने अवस्था आउन सक्दछ। यसैले विपत्तिको सामना एक भएर लडौं , धरानलाई डेंगुमुक्त बनाउन सबैले आफ्नो घर वरिपरि सर्च एण्ड डेष्ट्रोई अभियान जारी राखौं।(दिव्य रोशनी साप्ताहिकबाट)