दलितहरुलाई चुनावले झन् दुःखी बनायो

आनन्द श्रेष्ठ(धरान)/
जनता समाजवादी पार्टीका केन्दिय सदस्य सुनिता मरिक डोमलाई यसपटक पनि पार्टीले मधेशी दलित महिलाको कोटाबाट प्रतिनिधी सभा सदस्यको लागि समानुपातिकमा उठाएको थियो। चुनावको दुई हप्ता अघि मात्र एक्कासी आफनो नाम घोषणा भएपछि काठमाण्डौंमा महिला होष्टेल चलाएर बसेकी मरीकलाई खुब चटारो पर्यो। उनी हतार–हतारमा साथी भाईहरुसँंग एक लाख रुपैयाँ ऋण काढेर आफनो गृहनगर धरान आउछिन्। चुनावको मिति नजिक भएको कारण उनले हतार हतारमा आफनो जातीहरु भएको बस्तीहरुमा जान एउटा मारुति भ्यान रिजर्ब गरेर व्यानर, पोष्टर र माईक फिट गरेर एक्लै हिड्छिन्। उनले एक हप्ताभित्र झापा, मोरड, सुनसरी, सिराहा, सप्तरीमा रहेका डोम बस्तीमा पुगेर आफनो पार्टीको चुनाव चिन्ह छातामा भोट हाल्न अनुरोध गर्छिन्। मैथिली भाषा राम्ररी बोल्न आउने सुनितालाई डोम जातीको सबैले माया गरेर भोट दिने वाचा दिन्छन्। आखिर उनी नेपालको अल्पसंख्यक दलित जातीमा पनि मधेसी उत्पीडित दलित डोम जातीबाट नेपाल भरीकै एक मात्र उम्मेद्वार थिईन्। त्यो बेला उनले जितिन्भने आफनो जातीको पनि कतै उदार हुन्छ कि भन्ने झिनो आशा थियो डोम जातीहरुलाई।
आफनो भन्ने आमा, बावु, दाजुभाई कोही नभएकी एकल महिलाको रुपमा एउटी सानी छोरी संँग काठमाण्डौ जस्तो ठाउँमा संघर्ष गरेर जीवनयापन गरी बसेकी छिन् सुनिता। जीविकापार्जनको लागी एउटा होष्टल चलाएर बस्दा पनि कोरोनाको कारण ६ महिना होष्टल नचल्दा उनको टाउकोमा ऋणको भारीले उठनै नसक्ने बनाएको सुनिता बताउँछिन्। यस्तो दयनीय अवस्था हुँदाहँुदै पनि पार्टीको एक जिम्मेवार कार्यकर्ता भएको कारण पार्टीले दिएको जिम्मेवारी पुरा गर्न उनी चुनावमा होमिएकी थिईन् । त्यसो त उनलाई विगत २०७४ को चुनावमा पनि समानुपातिक सदस्यमा उठाएका थिए । तर उनले मागेको भोटबाट पार्टीमा पहुँचवाला महिलाहरु नै माथी पुगेका थिए। उनको हातमा भने शुन्य । यसपटक पनि सुनिता आफुले खाईनखाई जोडेको अलिकति पैसा र धेरै ऋण काडेर लिएको पैसा खर्च गरेर चुनाव त लडिन् तर दलित कोटाबाट उनको नाम परेन। पहिलाको जस्तै यसपटक पनि सुनिता खुम्चिएर बस्नु पर्यो। बरु उनले दुःख गरेर मागेको समानुपातिकको भोटबाट पार्टीका केन्दिय उपाध्यक्ष अशोक राईकी श्रीमती शुशिला राई (श्रेष्ठ) जस्तोलाई सांसद बनाईयो। पार्टीको यो रवैया देखेर उनले आफनो फेसबुकमा लेखेकी छिन् “यो राज्यको लागि हामी दलितहरु केवल एक भोट बाहेक अरु केहि होइनौ की जस्तो लाग्यो।” उनी अझै थप्छिन् “देशको १४ प्रतिशत दलितहरु समानुपातिक सिटमा अटाएनछ। सायद अछुतहरु त्यहाँ पुगेभने छोईछिटो पो लाग्छकी भन्ने डरले त होलानी। निर्वाचन आयोगको अब कुनै काम देखिन।अब समानुपातिक प्रणाली खारेज गर। दलितलाई भर्याङ बनाएर उपल्लो जात माथी जानलाई समानुपातिक प्रणाली बनाईएको रहेछ“ यसरी उनी सामाजिक संजालमा आफनो आक्रोश पोख्छिन् ।


यस्तै कथा छ, जसपा पार्टीकै अर्का दलित नेता दलमर्दन कामीको पनि । पार्टीका केन्द्रिय सदस्य तथा राजनीतिक विभागका केन्द्रिय सदस्य कामीलाई पनि पार्टीले यसपटक प्रतिनिधी सभा सदस्यको लागि समानुपातिक सिटमा उठाएका थिए। पुरानो ठाउँ धरानमा आएर उनले पनि चुनाव भरी घरघरै भोट माग्दै हिडे । मुटुका रोगी उनलाई चुनाव सकेर पनि पार्टीले मतगणना स्थलमा खटाएका थिए। पार्टीभने पछि हुरुक्कै हुने कामीले पनि अन्ततः सांसद हुन पाएनन्। बरु उनको ठाउँमा कमरेडहरु समानुपातिकका सांसद भए। हाल उनी थापाथलीको सुकुम्वासी बस्तीमा सानो छाप्रो बनाएर बस्दै आएका छन्। एकातिर चुनावको चटारो अर्कोतिर काठमाण्डौंका मेयर बालेन साहको सुकुम्वासी क्षेत्र खाली गर्ने अभियानले कति बेला आफनो पनि झिटिगुन्टा बाटोमा फालिने हो भन्ने कुराले चिन्तित बनाएको थियो। एक वर्ष अघि भारतको एपोलो अस्पतालमा मुटुको ठुलो अप्रेसन गराएर आएका कामीको आर्थिक अवस्था पनि दयनीय नै रहेको बताउँछन् । तर पनि के गर्नु पार्टीले समानुपातिकमा उठ भनेर खटाए पछि उठनै पर्यो। भए नभएको पैसा चुनावमा खर्च भयो अब मुटुको फलोअपमा भारत जानु पर्ने के गरौं भनि साेंचिरहेको छु भन्छन्। उनले पनि पार्टीको सो असमान व्यवहार देखेर आफनो सामाजिक संजालमा लेख्छन्।
“यो अच्चमको लाजनीति देखेर मलाई पनि दिक्क लागी सक्यो। आप्mनै श्रीमती र दिदिबहिनी दाजुभाईहरुलाई मात्र समानुपातिक कोटामा अधिकार जमाउने विधानलाई अलि पर राखे हुने । हामी दलित मुस्लीम र अन्य जातिय नाम बेचेर खाने देखेर लाज पो लाग्यो।”
धरान १७ बस्ने ३५ वर्षिय निर्मला विश्वकर्माको दुःखभने स्थानिय निर्वाचन देखि बल्झिएको हो। उनी नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको धरान नगर कमिटीको सदस्य तथा दलित महिला संगठनकी जिल्ला सचिव हुन् । उनी पनि धरान १७ स्थित चारकोशे जंगलको छेउमा रहेको सुकुम्वासी बस्तीमा श्रीमान र दुई छोरा संँग बस्दै आएकी छिन्। कोरोनाको कारण रेल्वे चोकमा रहेको सानो सुनको पसल धरासाही भएपछि उनले अब विदेश जाने मनस्थिति बनाएर म्यानपावरमा फर्म भरेकी थिईन्। म्यानपावरले असारमा उनलाई “भिसा आयो अब टिकट काट्नु” भनेपछि टिकट त काटिन् तर लगतै टिकट क्यान्सील भएको खबर पनि आयो त्यो कसरी भनेर सोधखोज गर्दा उनको टिकट सरकारले नै क्यान्सील गरी दिएको रहेछ भन्ने पता लगाए। उनले स्थानिय निर्वाचनमा उठ्दाको हिसाब सरकारलाई नबुझाएको रहेछिन् ।
स्थानिय निर्वाचनमा उनलाई पार्टीले धरान वार्ड न.ं १७ को दलित कोटाबाट सदस्य पदमा उठाएको रहेछ । चुनाव सकियो । गठबन्धनबाट उठेकी उनले चुनाव पनि हारिन् । यता घर चलाउन मुस्किल परेको बेला ऋण काढेर ७० हजार रुपैयाँ चुनावमा खर्च गरेकी थिईन् । यता चुनाव सकिए पछि सरकारलाई हिसाब बुझाउनु पर्छ भनेर उनलाई कसैले नसम्झाई दिएपछि निर्वाचन आयोगबाट हिसाब नबुझाएको उनलाई अढाई लाख जरीवाना तिर्नुपर्ने कागज आउदा पो उनी छांगाबाट खस्छिन् । पत्र आए पनि पार्टीले तिरी दि हाल्छनी भनेर ढुक्क भएर बसेकी निर्मलालाई विदेश जाने टिकट समेत सरकारले रद्ध गरेपछिभने ठुलो आधात परेको छ । उनले पार्टीका पदाधिकारीहरुलाई आफुलाई ठुलो अन्याय परेको कुरा बारम्बार भन्दै आएकी छिन् “पार्टीले सुनेको छैन अब मैले के गर्नु पर्ने हो?” भनि प्रतिप्रश्न गर्छिन्। (साभारः दिव्य रोशनी साप्ताहिकबाट)