गोधुली फुटबल रनिङकपको उपाधी धरान १४ लाई
दिव्य रोशनी(धरान)/ धरान १५ लाई ० का विरुद्ध १ गोलले पराजित गर्दै धरान १४ नं वडाले गोंधुली फुटबल रनिङकपको उपाधि जितेको छ।
विहिवार राती धरान रंगशालामा भएको खेलमा धरान १५ नं वडालाई ० का विरुद्ध १ गोल गर्दै धरान १४ ले गोधुली फुटबल रनिङकपको उपाधी जितेको हो। निकै नै प्रतिस्पर्धात्मक भएको खेलमा धरान १४ का विवेक राईले एक मात्र निर्णायक गोल गरेका थिए। उनले दोस्रो हाफको २८ औं मिनेटमा गोल गरेका थिए। विजेता धरान १४ ले उपाधी संगै नगद १ लाख ५० हजार सहित रनिङ ट्रफि र मेडल प्राप्त गरेको छ। यसैगरी उपविजेता धरान १५ ले नगद ७५ हजार सहित ट्रफि र मेडल प्राप्त गर्यो। विजेता तथा उपविजेता टिमलाई धरान १८ नं वडाका वडाअध्यक्ष नरेन्द्र कुमार राई (प्रविन) द्धारा थप २५/२५ हजार प्रदान गरिएको थियो।
प्रतियोगिताको प्लेयर अफ द म्याच वडा १४ का आशिष पुरी घोषित भए। उनले नगद ५ हजार ५ सय प्राप्त गरे। यसैगरी प्रतियोगिताको बेष्ट गोलकिपर वडा १४ का राजु खड्का, बेष्ट डिफेन्डर वडा १५ का आशुतोष राई, बेष्ट मिडफिल्डर धरान १५ का एरिक गुरुङ, बेष्ट स्ट्राइकर धरान १४ का निमेष तामाङ घोषित भए भने बेष्ट कोच धरान १४ का शिव राई घोषित भए । उनीहरुले जनही नगद ५ हजार ५ सय सहित ट्रफी प्राप्त गरे ।
यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी धरान १४ का विवेक राई घोषित भए। उनले नगद १५ हजार र ट्रफी हात पारे। त्यस्तै प्रतियोगितामा सर्वाधिक ४ गोल गरेका धरान १७ का कृष्ण राई सर्वाधिक गोलकर्ता घोषित भए। उनले नगद ७ हजार ५ सय पाएभने राइजिङ प्लेयरको पुरस्कार वडा १७ का सुवास बिकले पाए। उनले नगद ५ हजार ५ सय पाए । त्यस्तै फेयर प्ले टिम वडा नं १७ ले पाएको थियो। विजेता र उपविजेता टिमका खेलाडी, व्यक्तिगत पुरस्कार विजेता खेलाडीहरुलाई आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसी, प्रमुख अतिथि एवं धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ), उपमेयर अइन्द्र बिक्रम बेघा, पुर्वमेयर तिलक राई, वडाअध्यक्षहरु कृष्ण भट्टराई, विवेक राई, गल्फ संघका अध्यक्ष एवं सर्वोत्कृष्ट खेलाडी पुरस्कारका प्रायोजक जितेन्द्र राई लगायतले पुरस्कार विरतण गरेका थिए ।
प्रतियोगितामा धरानका २० वटा वडामध्ये १८ वटा वडाले मात्र सहभागिता जनाएका थिए। जसमा २ र ७ नं वडाले सहभागिता जनाएका थिएनन्। कार्यक्रममा पत्रकार शुक्रान्त राईलाई सुवास राई स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो।
२५ औं संस्करणमा आईपुग्दा क्लवले धरान नै पहिलो पटक रात्रीकालिन फुटबल खेल संचालन गरेको थियो।