धरानका खेलाडी तथा प्रशिक्षकलाई नगदसहितको अवार्ड

दिव्य रोशनी(धरान)/ धरान खेलकुद मञ्चले धरानका उत्कृष्ट वर्ष खेलाडी तथा प्रशिक्षकलाई नगदसहित अवार्ड प्रदान गरेको छ।
शुक्रवार धरानमा आयोजित एक कार्यक्रम बीच मञ्चले खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहित गर्ने उद्देश्यले यसवर्षदेखी उत्कृष्ट वर्ष खेलाडी तथा प्रशिक्षकलाई नगदसहित अवार्ड प्रदान गरेको हो।
अवार्डको लागि मञ्चका निवर्तमान अध्यक्ष राजुमान श्रेष्ठको अध्यक्षतामा छनौट समिति गठन गरिएको थियोभने सोही समितिले अवार्डको लागि खेलाडीहरुको मनोनयन गरेको थियो। धरान वर्ष खेलाडी पुरुषतर्फ टेवल टेनिसका सिद्धार्थ तामाङले जितेका छन्। उनले नगद २५ हजार सहित अवार्डका साथमा गिफ्ट ह्याम्परहरु प्राप्त गरेका थिए। उनीसंँग फुटबलका सनम लिम्बु मनोनयनमा परेका थिए। त्यस्तै महिलातर्फ जुडोक्रसकी दिपिका आचार्जुले अवार्ड जितेकी छिन्। उनीले पनि नगद २५ हजारका साथमा अवार्ड सहित गिफ्ट ह्याँम्पर प्राप्त गरिन्। उनीसंँग बक्सिङकी जुनु लिम्बु मनोनयनमा परेका थिए।
यसैगरी प्रशिक्षकतर्फ करातेका किरण लामाले अवार्ड हात पारे। उनले पनि नगद २५ हजारका साथमा गिफ्ट ह्याम्परहरु प्राप्त गरे। उनी संँग बक्सिङका निमा लामा मनोनयनमा परेका थिए। त्यस्तै फुटबलका सनम लिम्बुले मोष्ट पपुलर राइजिङ प्लेयरको अवार्ड प्राप्त गरे। उनले नगद ११ हजारका साथमा गिफ्ट ह्याम्पर प्राप्त गरे। उनी हाल ए डिभिजन क्लब एनआरटीमा आबद्ध छन्।
यसैगरी खेलकुदमा जीवन समर्पण गरेका राजेशमान श्रेष्ठ र गीता थापा मगरलाई धरान स्पोर्टस् लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो। दुवैले जनही ११ हजार सहित गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए।
कार्यक्रममा मञ्चका अध्यक्ष किशोर राईले धरानलाई खेलकुदको शहरको रुपमा चिनाउने खेलाडीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले अवार्ड प्रदान गरिएको बताए। उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गरेका खेलाडीहरुलाई एक्स्पोजर गर्नुपर्छ भनेर अवार्ड प्रदान गरिएको बताउँदै यो कार्यक्रमलाई निरन्तरता दिइने समेत बताए।
कार्यक्रममा नेकपा एमाले धरान उपमहानगर कमिटीका उपाध्यक्ष पारस काङ्माङ राई, नेपाली कांग्रेस नगर सभापति श्याम पोख्रेल, नेकपा समाजवादी पार्टी नगर सभापति रेवती रमण राई लगायतले बोलेका थिए। (दिव्य रोशनी साप्ताहिकबाट)