मगर अक्खा लिपि प्रशिक्षण सम्पन्न

दिव्य रोशनी(धरान)/
धरान उपमहानगरपालिकाको सहयोग र नेपाल मगर संघ धरान उपमहानगर समितिको आयोजनामा गत बैशाख ३० गते देखि जेठ १२ गतेसम्म २ समुहमा सम्पन्न “मगर अक्खा लिपि प्रशिक्षण” को शनिवार समापन कार्यक्रम सम्पन्न भएको छ।
मगर संघ धरान नगर समितीको कार्यालयमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ धरानका नगर अध्यक्ष सुवास चन्द्र हुक्पा चोङबाङ रहेका थिए। उनले लक्षित बर्गको शिर्षकमा न्यून बजेट विनियोजित भएपनि जातीय संस्थाहरुले उत्कृष्ट रुपमा कार्यक्रमहरु सम्पन्न गर्दै आएको बताउँदै जुनसुकै जातिको भाषा र लिपि लोप हुँदा जाति नै लोप हुने भएकोले नेपाल मगर संघद्वारा लिपि प्रशिक्षण कार्यक्रमको आयोजना गर्नु अतिनै सान्दर्भिक भएको बताए।
कार्यक्रममा धरान उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक सिर्जना नेपाल, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ धरानका सचिव रिता खापुङ, सुनुवार सेवा समाज धरानका अध्यक्ष गोपाल सुनुवार, नेपाल शेर्पा संघ धरानका उपाध्यक्ष प्रेम शेर्पाले मगरसंघले पुस्ता हस्तान्तरणका लागी आयोजना गरेको लिपी प्रशिक्षण कार्यक्रम समय सान्दर्भिक रहेको बताएका थिए। कार्यक्रममा नेपाल मगर संघ धरानका सल्लाहकारहरु बलराम राना मगर र नरकुमार मगराती मगर, प्रमुख प्रशिक्षक लीला राना मगर साथै प्रशिक्षक जुनि थापा मगर र एलिसा मगरको उपस्थिती रहेको थियो।
प्रशिक्षणमा २९ महिला सहित कुल ५२ जना प्रशिक्षार्थी मध्ये ४ जना गैर मगर सहभागी प्रशिक्षार्थी रहेका थिए।समूह(क) मा समान अंक ल्याई विकास आले मगर र आश्मिन आले मगर साथै समूह (ख) मा मेनुका राना मगर समूहको उत्कृष्ट हुन सफल भएका थिए। प्रशिक्षणमा प्रमुख प्रशिक्षकको रुपमा लीला राना मगर, प्रशिक्षकमा जुनि थापा मगर र अलिसा आले मगर साथै सहायक प्रशिक्षकको रुपमा विकास आले मगर र प्रकृति आले मगरले सहजीकरण गरेका थिए। सहभागी प्रशिक्षार्थीहरुलाई अतिथि सिर्जना नेपालद्वारा प्रमाणपत्र वितरण गरिएको थियो ।
यसैगरी समूह उत्कृष्ट, प्रमुख प्रशिक्षक, प्रशिक्षक र सहायक प्रशिक्षकहरुलाई प्रमुख अतिथि सुवासचन्द्र हुक्पा चोङबाङद्वारा मायाको चिनो र प्रमाणपत्र वितरण गरिएको थियोभने प्रमुख अतिथि सुवास चन्द्र हुक्पा चोङबाङलाई संघका अध्यक्ष चित्रराज थापाद्वारा मायाको चिनो प्रदान गरिएको थियो।
नेपाल मगर संघ धरानका सदस्य विनोद आले मगरद्वारा संचालित कार्यक्रम संघका अध्यक्ष चित्रराज थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो। (दिव्य रोशनी साप्ताहिकबाट)