बुढासुब्बा गोल्डकप चुम्ने धरानको सपना अधुरैः सेमिफाईनलमा मोरङ संग पराजित

दिव्य रोशनी(धरान)/ आयोजक धरान फुटबल क्लव धरानमा जारी २४ औं अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको सेमिफाईनल खेलमा मोरङ संग ट्राईब्रेकरमा पराजित भएपछि उपाधी चुम्ने धरानको सपना अधुरै भएको छ।
निर्धारित समय सम्म दुबैतर्फबाट कुनैपनि गोल हुन नसकेपछि खेलको निर्णय ट्राईब्रेकरबाट लिईएको थियो। जसमा धरानलाई ४ का विरुद्ध ५ गोल गर्दै मोरङ फुटबल एशोसिएशन बुढासुब्बा गोल्डकपको फाईनलमा पुगेको छ। खेलमा मोरङका तर्फबाट सिमोन लिम्बु, धिरेन क्षेत्री, आदित्य शाक्य, सागर तिरुवा र ओशक खवासले गोल गरेका थिए। यसैगरी धरान फुटबल क्लवका तर्फबाट दोर्जे तामाङ, विजय राई, अनिल राई, सुगम जिमीले मात्र गोल गरेका थिएभने मिलन लिम्बुको प्रहार मोरङका गोलकिपर पूर्ण चेम्जोङले रोकेका थिए। खेलको म्यान अफ दि म्याच मोरङका गोलकिपर पूर्ण चेम्जोङ घोषित भए। उनले नगद १० हजार सहित मेडल, टिसर्ट तथा ट्रफी प्राप्त गरे।


निकै नै प्रतिस्पर्धात्मक भएको खेलमा धरानले गोल गर्ने अवसरहरु थुप्रै पटक गुमाएको थियो। खेलको ३२ औं मिनेटमा दोस्रो पटक पहेलो कार्ड खादै रातो कार्ड पाएर धरानका खेलाडी प्रविन भुजेल मैदान छाड्न बाध्य बने। निर्धारित ९० मिनेटको समयमा धरान ५८ मिनेट सम्म दश खेलाडीमा सिमित बनेको थियो। खेल समाप्तीपछि आयोजित प्रेस कन्फ्रेन्समा धरानका कोच हेम कुमार गुरुङले धरानले पाएको असरहरुलाई सदुपयोग गर्न नसक्दा र एक खेलाडीले रातो कार्ड पाएपछि धरानले हार ब्योहर्नुपरेको बताए। यता मोरङका कोच रानु राना मगरले धरान दश खेलाडीमा सिमित बनेपछि धेरै अवसरहरु पाएपनि गोल गर्न नसकिरहेको अवस्थामा ट्राईब्रेकरबाट सफलता पाएको बताए।
प्रतियोगिता अन्तर्गत भोली विहिवारको दोस्रो सेमिफाईनल खेल काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र एनआरटी क्लव काठमाण्डौका बिच हुने प्रतियोगिताका जेनेरल को–अर्डिनेटर ईन्द्र थापा मगरले जानकारी दिए।
प्रतियोगिताको विजेताले नगद १० लाखको साथमा ट्रफि प्रमाणपत्र प्राप्त गर्नेछन्भने उपविजेता टिमले नगद ५ लाख सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक धरान फुटबल क्लवका महासचिव नविन राईले बताए।